२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलन : मोरङका ८ वटा स्थानीय तह जोगिए, कुनै कर्मचारीले जोगाए, कति भयो क्षति ?

सोमवार , भाद्र ३०, २०८२

विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तह जोगिएका छन् । देशभर जेनजीको आन्दोलनको क्रममा प्रायजसो सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको छ । जसका कारण मोरङका अधिकांश सरकारी कार्यालयमा पनि आगजनी, तोडफोड र लुटपाट भएको छ । तर, कतिपय स्थानमा भने कर्मचारीहरूको सुझबुझ र आन्दोलनकारीका केही युवाका कारण करोडौँ नगद र भौतिक संरचना क्षति हुनबाट जोगिएको छ ।

मोरङको लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका, रतुवामाई नगरपालिका र कटहरी गाउँपालिका जोगिएका छन् । जनप्रतिनिधि, कर्मचारी र स्थानीयले सम्झाईबुझाई गरेपछि उक्त पालिकाका कार्यालयहरु जोगिएका हुन् ।

जेनजीको आन्दोलनको क्रममा सबैभन्दा बढी क्षति विराटनगर महानगरपालिकामा भएको छ भने रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, उर्लाबारी नगरपालिका लगायतका स्थानीय तहमा पनि उत्तिकै मात्रामा क्षति भएको छ । कार्यालय पूर्णरुपमा जलेका छन् । ल्यापटप, कम्प्युटर लगायतका सामानहरु चोरी भएको छ । विराटनगर महानगरपालिकाले चोरी भएका सामानहरु फिर्ता गर्न सूचना जारी गरेको छ भने महानगरले अर्को सूचना जारी नभईन्जेल सेवा दिन नसकिने भन्दै सूचना निकालेको छ ।

कर्मचारीले जोगाए प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

कर्मचारीको सुझबुझका कारण विराटनगरको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र क्षति हुनबाट जोगिएको छ ।

जेनजी आन्दोलनको नाममा विराटनगरका सरकारी भवनहरू जलेर खरानी बने । नजिकैका प्रदेशसभा भवन, स्वास्थ्य मन्त्रालय, उच्च अदालत र जिल्ला अदालतदेखि धेरै संरचना ध्वस्त भए । तर भीषण आगोको बीचमा देवकोटा चोकस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भने कर्मचारीको साहस र संवादका कारण जोगियो हो ।

केन्द्रमा ३० करोड रुपैयाँभन्दा बढीको औषधि, खोप र स्वास्थ्य सामग्री राखिएको थियो । बालबालिकालाई आवश्यक खोप, सर्पदंश र कुकुरको टोकाइका लागि अनिवार्य एन्टि–रेबिज भ्याक्सिन, तथा जिल्लामा पठाइने अन्य महत्वपूर्ण औषधि त्यहाँ भण्डारण गरिएका थिए । केन्द्रका निर्देशक डा। सुरेश मेहता र कार्यालयका कर्मचारी बिहानै कार्यालय पुग्दा वरिपरि आगलागी सुरु भइसकेको थियो । केन्द्रको गेटमा पनि आन्दोलनकारीहरु आए । उनीहरू गेटमा निस्केर आन्दोलनकारीसँग प्रत्यक्ष संवाद गरे ।

भीडबाट “सरकारी भवन जलाउनुपर्छ” भन्ने आवाज आईरहेको थियो । डा. मेहताले हात जोड्दै भने, “यहाँ राजनीति छैन, जीवन छ । यो खोप जल्यो भने हजारौँ बालबालिकाको भविष्य अन्धकार हुन्छ ।” यस्तो सुनेपछि पहिलो समूह फर्कियो ।

तर दिनभर धेरै समूह आए । हरेकलाई उनले उही कुरा दोहोर्याए । गेटमा “अत्यावश्यक औषधि, खोप तथा स्वास्थ्य सामग्री भण्डार गरिएको कार्यालय, कृपया क्षति नपुर्याईदिनुहोला ” भन्ने सूचना टाँसियो, चेतनामूलक प्लेकार्ड राखियो ।

अन्तिमतिर एक समूहले गाडी जलाउने धम्की दियो । आपूर्ति केन्द्रका चार गाडी दुर्गम जिल्लामा औषधि पुर्याउने मुख्य साधन थिए । “यी मन्त्रीका गाडी होइनन्, तपाईँकै गाउँका बिरामीका लागि जीवनरक्षक औषधि बोक्ने साधन हुन्,” कर्मचारीहरूले सम्झाए ।

लगातार संवाद र धैर्यको कारण भवन मात्र होइन, गाडी र स्वास्थ्य सामग्री पनि सुरक्षित रह्यो । अन्य सरकारी भवन पुनर्निर्माणको पर्खाइमा भए पनि यो केन्द्र क्षतिविहीन रहनु कर्मचारीको सुझबुझ र संवादै कारण हो ।

त्यस्तै कर्मचारीको सुझबुझ र आन्दोलनकारीसँग संवाद गरेका कारण बेलबारी नगरपालिकामा रहेको मालपोत र नापी कार्यालय पनि जोगिएको छ । मालपोत कार्यालय बेलबारीका कर्मचारी शालिग्राम कोईरालाले दिएको जानकारी अनुसार पटक पटक जलाउन आएका जेनजी आन्दोलनकारीहरुलाई सम्झाएर पठाएपछि उक्त कार्यालयहरु क्षति हुनबाट जोगियो ।

त्यसैगरी विराटनगरको गुणस्तर तथा नापतौल विभागको कार्यालय पनि जोगिएको छ । कार्यालय भित्र तीन वटा तेलको ट्यांकर रहेकाले आगजनी भयो भने कार्यालय वरिपरीका सबै घरमा क्षति पुग्ने भन्दै आन्दोलनकारीलाई सम्झाए पछि उनीहरु फर्किएका थिए ।

दुई पटकसम्म आगजनी गर्न पुगेका आन्दोलनकारी समूहलाई कार्यालयका कर्मचारीले सम्झाएर पठाएका हुन् । सँगै रहेको कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा क्षति हुँदा उक्त कार्यालय भने कर्मचारीले जोगाएका हुन् ।

अनमोलको साहसले जोगियो विराटनगरको ऐतिहासिक वीरेन्द्र सभागृह

जेनजी आन्दोलनको अराजकतामा विराटनगरका अधिकांश सरकारी भवन जले, तर ऐतिहासिक वीरेन्द्र सभागृह अनमोल लिम्बुको साहसले जोगियो । भिडले गेट तोड्दै भित्र पस्दा २३ वर्षका लिम्बु नेपाली झन्डा बोकेर अघि बढे र चर्को स्वरमा भने, “यो हाम्रै सम्पत्ति हो, नष्ट नगरौँ ।”

उनका केही साथीहरू पनि साथमा थिए । कोही लाठी बोकेका, कोही हतियारसहित भए पनि अनमोल फेरि चर्को स्वरमा भने, “सभागृह भत्काइयो भने हामी हाम्रो इतिहास गुमाउँछौँ । बाहिरका सामान लैजाओ, तर भित्र नजाओ ।” केही सामान लुटपाट भएपनि आगो सल्केन ।

अनमोल रातभर चिन्तित रहे—“कसैले राति आगो लगाइहाल्यो भने रु” बिहानै उनी सभागृह पुगे र भवन सुरक्षित देखेपछि मात्र ढुक्क भए । जनता आदर्श बहुमुखी क्याम्पसका बीएसडब्लु तेस्रो सेमेस्टरका विद्यार्थी अनमोल सामान्य परिवारका भए पनि त्यस दिनको साहस असाधारण थियो ।

तेजनारायण चौधरीसहितका साथीको सहयोगमा अनमोलले अराजक भिडलाई सम्झाएर सभागृह सुरक्षित राख्न सफल भए । करिब २३ करोड रुपैयाँ खर्चेर पुनः प्रयोगमा ल्याइएको २०३० सालको यो ऐतिहासिक भवन जोगाउनु कुनै सानो काम थिएन । अधिकांश सरकारी संरचना खरानी बनेको दिन, विराटनगरको गौरव वीरेन्द्र सभागृह सुरक्षित रहनुमा उनको भूमिका ठूलो छ ।

कोशी प्रदेश सरकारका आर्थिक र सामाजिक मन्त्रालयमा कम क्षति

कोशी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयसहित ९ वटा मन्त्रालय रहेकोमा तुलनात्मक रुपमा आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा कम क्षति भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको बाहिर आगो लगाईएको छ । भित्र लगाईएको आगो गार्डले निभाएका कारण सल्किन पाएन । कार्यालय भित्र आगजनी नभएपनि सामानहरु तोडफोड र चोरी भने भएका छन् । दराज फुटाएर ल्यापटपहरु चोरी भएको छ । एउटा गाडी र १० वटा मोटरसाईकल आगजनी भएको छ । कार्यालयका कतिपय कागजातहरु सुरक्षित रहेका छन् ।

सामाजिक विकास मन्त्रालयमा आगजनी भएको छैन् । नजिकै रहेको आन्तरिक मामिला मन्त्रालय, उद्योग तथा सहकारी मन्त्रालय, कर्मचारी सञ्चय कोष, आन्तरिक लेखा नियन्त्रण कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, प्रयोगशालामा आगजनी हुँदा सामाजिक विकास मन्त्रालय स्थानीयका कारण आगजनीबाट जोगिएको हो ।

मन्त्रालयमा पसेर कम्प्युटर, ल्यापटप लगायतका सामाग्री चोरी हुनुका साथै सिसाका झ्यालहरु तथा टेवुलहरु तोडफोड गरिएको छ भने गाडीहरुमा तोडफोड गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, वन तथा पर्यटन मन्त्रालय, आन्तरिक मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, भौतिक मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सिचाई मन्त्रालय लगायतका मन्त्रालयमा बढी क्षति हुँदा दुई मन्त्रालय भने केहि मात्रामा जोगिएका छन् ।

चोरी भएका सामान फिर्ता गर्न सूचना

आन्दोलनका क्रममा सामान चोरी गरेर आगजनी भएका सरकारी कार्यालयहरु चोरी गरिएका सामान फिर्ता ल्याउन सूचना गरेका छन् । तुलनात्मक रुपमा कम क्षति भएको प्रदेश निर्वाचन कार्यालयको सामान चोरी भएको भन्दै फिर्ता गर्न सूचना गरिएको छ ।

त्यस्तै गरी जिल्ला प्रशासन, विराटनगर महानगरपालिका लगायतका आगजनी, तोडफोड भएका सबै सरकारी कार्यालयले सामान फिर्ता गर्न सूचना गरेका छन् ।

विराटनगरका सामाजिक अभियान्ता पारुल क्षेत्रीले चोरी भएका सामानहरु फिर्ता गर्न अभियान नै चलाएर लागिरहेका छन् ।

विराटनगर भन्सारमा कर्मचारीको तत्परता, चार करोड नगद सुरक्षित

जेनजी आन्दोलनको अराजकता बीच विराटनगर भन्सार परिसरस्थित राष्ट्रिय वाणिज्य बैंकको चार करोड रुपैयाँ नगद कर्मचारीको सतर्कताका कारण जोगिएको छ ।

आन्दोलनकै क्रममा उत्तेजित भिडले भन्सार परिसरमा प्रवेश गरी गेटमा आगजनी गरेपछि फर्कियो । तर त्यसको केहीबेरमै अर्को समूह बैंक तोडफोड तथा आगजनी गर्ने तयारीमा रहेको सूचना बैंकका प्रबन्धक प्रवेश खड्गीले थाहा पाए ।

स्थिति गम्भीर देखेपछि प्रबन्धक खड्गीले क्यासियर हरि साहलाई साथ लिएर तुरुन्तै नगद सुरक्षित गर्ने योजना बनाए । उनले तत्काल राष्ट्रिय वाणिज्य बैंकको रानी शाखाबाट भ्यान बोलाए र काउन्टरमा रहेको सम्पूर्ण चार करोड रुपैयाँ तीनवटा बोरामा हालेर भ्यानमार्फत पठाए । भ्यानको अघिपछि मोटरसाइकल स्कर्टिङ गरी रकम सुरक्षित रूपमा रानी शाखा पुर्याए ।

पछि करिब १५–२० जनाको अर्को समूह बैंकको काउन्टरभित्र पस्यो । उनीहरूले भल्ट रडले हान्दै फुटाए तर नगद नपाएपछि भाग्न बाध्य भए ।

बैंकका प्रबन्धक खड्गीको शीघ्र निर्णय र कर्मचारीको तत्परताले ठूलो रकम सुरक्षित रहनुमा निर्णायक भूमिका खेलेको भन्दै अहिले उनीहरूको प्रशंसा भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट