विराटनगर । मोरङ जिल्लामा रहेका तीन वटै सरकार मातहत र निजी भवनमा भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मोरङमा भएका सरकारी तथा निजी कार्यालयहरुमा भएको क्षतिको विवरण मंगलबार सार्वजनिक गरेको हो ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडको सार्वजनिक विवरण अनुसार मोरङमा रहेका कूल ७३ मध्ये २१ कार्यालयमा क्षति पुगेको छ ।
यस्तै प्रदेशतर्फ रहेका ३९ मध्ये १४ कार्यालयमा क्षति भएको छ । स्थानीय पालिका १७ मध्ये १० र कूल १५९ मध्ये ५८ वडा कार्यालयमा क्षति भएको छ ।

यसैगरी निजी घरहरु १५, संस्थान १, व्यापारिक भवन ३, अन्य संघसंस्थातर्फ ४, पार्टी कार्यालयतर्फ ८ वटामा क्षति भएको छ ।
यता सुरक्षा निकायतर्फ १७ वटा पोस्ट तथा कार्यालयमा क्षति भएको छ । सशस्त्र प्रहरीका ४ वटा पोस्टमा आन्दोलनकारीले क्षति गरेका छन् ।
आन्दोलनका क्रममा ती कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको थियो । कूल १५५ कार्यालय तथा निजी भवनमा क्षति भएको प्रशासनले जनाएको छ ।

भाटभटेनी स्टोरहरुमा जलेर मर्नेहरुको पहिचान भएन
जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न भाटभटेनी स्टोरहरुमा जलेर मर्नेको संख्या पाँच पुगेको छ ।
भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनका क्रममा लुटपाट गर्न भाटभटेनी पसेकाहरु पछि आगो लाग्न थालेपछि निस्कन नसक्दा निस्सासिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । तर, उनीहरुको पहिचान भने खुल्न सकेको छैन । आन्दोलन साम्य भएपछि सरसफाइ शुरु गर्ने क्रममा धरानस्थित भाटभटेनी स्टोरमा चार जनाको कंकाल फेला परेको थियो ।

विराटनगरस्थित स्टोरमा हिजो सोमबार एक जनाको कंकाल फेला परेको थियो । आन्दोलनसमेतमा परेर कोसी प्रदेशभर १० जनाको मृत्यु भएको थियो । तीमध्ये पाँच जनाको मात्र पहिचान खुल्न सकेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको भने पहिचान खुलेको छ ।
झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस