२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अब सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, अरु केके छन् सचिवस्तरीय बैठकका निर्णय ?

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । सरकारी कर्मचारीले अब बैठक भत्ता नपाउने भएका छन् । जेनजी आन्दोलनका कारण भएको देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती हुने भएको हो ।

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले औसत दरबन्दी पनि २० प्रतिशत कटौती गर्न निर्णय गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा दायित्व सिर्जना नभएका टुक्रे आयोजनाहरू कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनाहरूमा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मत सम्भार तथा यन्त्र उपकरण खरिदका लागि रकमान्तर र स्रोतान्तर गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले हालैको आन्दोलनका क्रममा ध्वस्त भएका फर्निचर र सामग्री खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ । मुख्य सचिव अर्यालले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन अवरोध मानिएका मापदण्ड, कार्यविधि र निर्देशिका खारेजी वा संशोधन गर्न निर्देशन दिएका छन् ।

रिक्त पद तत्काल भर्न, चाडपर्व नजिकिएकाले खाद्यान्न आपूर्ति, कालोबजारी नियन्त्रण र बजार अनुगमनमा कडाइ गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मा दिइएको छ भने यातायात सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गरिएको छ ।

अनावश्यक सरकारी संरचना खारेज वा गाभ्ने प्रक्रिया अघि बढाउन, सेवा प्रवाह सहज बनाउन कार्यदल गठन गर्ने र सवारी साधन व्यवस्थापन गर्ने निर्णय भएको स्रोतले जनाएको छ । सिंहदरबारमा अनावश्यक प्रवेश पास खारेज गरिने र आगजनीमा नष्ट भएका कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्ने व्यवस्था मिलाइने भएको छ ।

त्यस्तै, आन्दोलनका क्रममा चोरी वा लुटिएका सामग्री सम्बन्धित निकाय वा प्रहरी चौकीमा फिर्ता बुझाउन सार्वजनिक आह्वान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट