२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नेतृत्वले सत्तालाई खेल सम्झिरहेसम्म देश उज्यालो हुँदैन : डा. सुनिल शर्मा

बुधवार , आश्विन १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार, सेवा प्रवाहको असमानता लगायत विषयमा तीखा टिप्पणी गरेका छन् । डा. शर्माले भनेका छन् ‘पार्टीको अपजसको दोष केवल सभापतिलाई थोपार्नु न्यायोचित हुँदैन, हामी सबै यसको हिस्सेदार हौं ।’

उनका अनुसार, नेपाली कांग्रेसको गौरवशाली इतिहासमा आजको स्थिति लाजमर्दो बिन्दुमा आइपुगेको छ । उनले पार्टी इतिहासमा बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायत नेताहरूको योगदान स्मरण गर्दै अहिलेको कांग्रेस त्यस गौरवको प्रतिरूप नभएको बताएका छन् ।

डा. शर्माले देशको दुःखद यथार्थ चित्रण गर्दै भनेका छन्– ‘आम नागरिक दुई छाक खाना र सिटामोलको खोजीमा छन्, बालबालिका खोलामा बगिरहेका छन् तर नेताहरू भोज भतेर र गाडीको लस्करमा रमाइरहेका छन् ।’

उनले जिल्लास्तरमा हुने पार्टी कार्यक्रमहरूमा हुने खर्च, मदिरा र मासुको तामझाम, देखावटी शक्ति प्रदर्शन, र पार्टी केन्द्रीय कार्यालयमा चलाइने गुटगत कार्यालयहरूको अपारदर्शिता बारे पनि प्रश्न उठाएका छन् ।

कांग्रेस नेता शर्माले पार्टीभित्रको आर्थिक अनियमितता र नेतृत्वको मौनता प्रति पनि उनले असन्तुष्टि प्रकट गरे । ‘विदेश, तस्करी वा ठेक्काबाट आएको पैसाको स्रोत खोलिँदैन, यो पारदर्शिता होइन, भ्रष्टाचारको मौन स्वीकृति हो’ उनले भने ।

शर्माले शिक्षा क्षेत्रमा गरिएको सिन्डिकेट, निजी विद्यालय बन्द गर्ने प्रयास, नर्सिङ कलेजहरू बन्द गरिएकोप्रति पनि आक्रोश पोखेका छन् ।

त्यस्तै, गैरआवासीय नेपालीहरूमाथि ‘अनागरिक’ जस्तो व्यवहार गरिएको, सम्पत्ति कायम गर्न नपाउनु, र उनीहरूको मौलिक पहिचान नै खोसिएको घटनालाई उनले लाजमर्दो भनेका छन् ।

संसदभित्र जनताको आक्रोश प्रवेश गरेको विषयलाई उनले गम्भीर चेतावनीका रूपमा चित्रित गरेका छन् । ‘यो लोकतन्त्रको मृत्युको संकेत हो, जनताको आवाज अब थुन्न सकिन्न,’ शर्माले भनेका छन् ।

गुटबन्दी, पुराना योगदानकर्तालाई कारबाही गर्ने प्रवृत्ति, पद बाँडफाँटमा योग्यता हैन गुटीय स्वार्थ हेर्ने मानसिकता, र पार्टी पदाधिकारीहरूको मौनता नेतृत्वको नैतिक पतन भएको उनले बताए । ‘आफ्नै पार्टीभित्र गलत देख्दा पनि महामन्त्री र पदाधिकारी मौन छन्, यो केवल लापरवाही हैन, देशप्रति विश्वासघात हो’ उनले भने ।

डा. शर्माले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वतन्त्र न्यायपालिका, भ्रष्ट न्यायाधीशको बर्खास्ती, कार्यकारीमा दुई कार्यकालको सीमा जस्ता सुधारका एजेन्डाहरू तत्काल नलिइए देश ठूलो विद्रोहतर्फ जान सक्ने चेतावनी दिएका छन् ।

उनले पार्टीभित्र सुधारको संकेत देखिन नसकेको अवस्थामा वर्तमान कार्यकारी नेताहरूले पदको मोह त्यागी, नयाँ पुस्तालाई जिम्मेवारी दिने समय आएको बताएका छन् । ‘यदि आत्मसमीक्षा गरेर काँग्रेस सुधारको बाटोमा लाग्यो भने मात्रै अपजसको ढोका चिर्न सकिन्छ’ उनले भने ।

शर्माले नेतृत्वले सत्तालाई खेल सम्झिरहेसम्म देश उज्यालो नुहने पनि बताएका छन् । ‘जबसम्म नेतृत्वले जिम्मेवारीलाई सत्ताको खेल सम्झिरहन्छ, तबसम्म देश, समाज र पार्टी उज्यालोमा जान सक्दैन’ उनले भने ।

तत्कालिन प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति डा. सुनिल कुमार शर्मा हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट