२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी प्रदर्शनमा दिनेशको मृत्यु भएपछि विचल्लीमा परिवार

बुधवार , आश्विन १, २०८२

झापा । अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा सहिद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उनको निधन भयो ।

पौरखी र मिलनसार स्वभावका उनी दुई वर्ष खाडीमुलुक कतारमा बसेर स्वदेश फर्किएका थिए । स्वदेशमा केही उद्यम गर्ने सोचका साथ उनले परिवारको जीविकोपार्जनका लागि मासु पसल सञ्चालन गर्न थालेका थिए । उनकी पत्नी जान्ती राजवंशीले आयआर्जनका लागि दैनिक ज्यालादारी काम गर्छिन् ।

दिनेशको पाँच वर्षीय एक छोरा रिदम र एक वर्षीया छोरी दिपीका अहिले पनि बुबा घर आउनुहोला भनेर बाटो कुरिरहेका छन् । उनकी ३० वर्षीया पत्नी जान्ती र ५५ वर्षीया आमा सपना राजवंशीको आँखाबाट आँसु ओभाएका छैनन् । बुबा मङ्गलु राजवंशीको तीन वर्षअघि निधन भइसकेको छ ।

जेनजी प्रदर्शनमा दिनेशले सहादत प्राप्त गरेपछि उनीमाथि आश्रित परिवार आर्थिक रूपमा कमजोर बन्दै गएपछि परिवारको विचल्ली हुने हो कि भन्ने चिन्ता लागेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए ।

“विदेश गएर कमाएको पैसाले घर चल्दै आएको थियो”, उनले भने, “देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ । साना नानीहरू र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने ?”

दिनेशको सानो कच्ची घरमा दाजु र भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको छ । उनको निधनपछि छोराछोरी र आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्तीले बताइन् । “घरमा साना छोराछोरी छन्, तिनीहरूलाई हुर्काउने, पालनपोषण गर्ने र पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको छ”, उनले भनिन्, “वृद्ध सासुआमा हुनुहुन्छ । घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु ।”

मासु बिक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर रोमानिया जाने तयारी गर्दै थिए । उनको निधनपछि परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको छ । एसएलसीसम्म अध्ययन गरेका दिनेश परिवारका आशा र भरोसा थिए ।

“मैले आर्थिक अवस्था कमजोर भएकै कारण धेरै पढ्न नसके पनि आधा गाँस नखाएरै छोराछोरीलाई धेरै पढाउँछु भन्नुहुन्थ्यो”, दिनेशकी पत्नी जान्तीले भनिन्, “उहाँको सपना अब अधुरै रह्यो ।”

गत भदौ २४ गते विर्तामोडमा भएको जेनजी प्रदर्शनमा दिनेश घाइते भएको खबर सुन्नेबित्तिकै जान्ती बिएण्डसी हस्पिटल पुगेकी थिइन् । जहाँ दिनेश जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका थिए । घाइते भएको तीन दिनमा उनको निधन भयो ।

हाल दिनेशको काजकिरिया उनको दाजु गोवर्द्धन राजवंशीले गरिरहेका छन् । रोजगारीको सिलसिलामा विदेशमा रहेका उनी भाइको निधन भएको खबर सुनेर स्वदेश आएका हुन् । भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएकाले छोरा रिदम र छोरी दिपीकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्ने गोवर्द्धनको माग छ । उनले भने, “परिवारको निर्वाह र सन्तानको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट