काठमाडौं । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको हैसियतमा सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित चार मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्न केशर महलस्थित शिक्षा मन्त्रालय पुगेका उनले आफू जेनजीहरुको दाइ भएको प्रतिक्रिया दिएका छन् । उनको उमेर सम्बन्धि राखिएको चासोमा आफू जेनजीहरुको दाइ भएको उनको प्रतिक्रिया थियो । आफूले काम गर्ने हरेक ठाउँमा ३० वर्ष मुनिका युवाहरु मात्र रहेकोले विचार र कामले आफू पनि युवा नै भएको उनले बताए ।
त्यस्तै, उनले काम सानै किन नहोस् तर ठोस् होस्, पूर्ण होस् भन्ने आफूले चाहेको बताए । अहिलेसम्म विज्ञान मन्त्रालयले खासै काम नगरेको उल्लेख गर्दै ६ महिनाको अवधिमा केही केही काम होस् भन्ने उनले बताए ।
पहिला पनि शिक्षा मन्त्रालय अन्तर्गत धेरै समिति बनेको तर काम गर्न नसकको उनको आरोप छ । काम गर्न नसक्नुको मुख्य कारण बजेट अभाव रहेको उनको भनाइ छ ।
उनले आफूलाई कवाडी मन्त्री भन्न गरेको आग्रहबारे पत्रकारको प्रश्नमा जवाफ दिँदै मन्त्रालयको कोठाभित्र मात्र मन्त्री भन्न आग्रह गरे ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस