काठमाडौं । नेपालमा रोजगारी, लगानी, कर संकलन र आर्थिक गतिविधिको ठूलो हिस्सा निजी क्षेत्रकै काँधमा छ । पछिल्लो अध्ययन अनुसार देशको जिडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रले नै दिन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको अर्थतन्त्रको मूल आधार मानिने निजी क्षेत्रको धरातल नै धरमराइदिएको छ । यद्यपी, व्यवसायीहरु भने पुनः उठ्ने जमर्को गरिरहेका छन् ।
आन्दोलनका क्रममा सरकारी सम्पत्ति मात्र ध्वस्त भएन कि निजी लगानी रहेको ठूला ठूला संरचनामा तोडफोड र आगजनी भए । १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारी दिइरहेको भाटभटेनीका १२ वटा शाखा आगजनीबाट ध्वस्त बनाइए । अर्बौँ लगानीमा भर्खरै सञ्चालनमा आएको हिल्टन होटल निमेषभरमा खरानीमा परिणत भयो । नेपालको आन्दोलनको चर्चा र यसले निम्त्याएको विध्वंश विश्वभरका चर्चित मिडियाले कभर गरे । जसको परिणाम पर्यटन क्षेत्रले भोग्नुपरेको छ । अहिले पर्यटक भित्रिने राम्रो सिजन हो तर आन्दोलन अगावै नेपाल आउन होटल बुकिङ गरिसकेका पर्यटकहरु धमाधम बुकिङ क्यान्सिल गरे ।

उसो त आन्दोलन अगावै पनि नेपालको पर्यटन बजार निकै खस्केको बताउँछन् एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवाल । महंगो डोमेस्टिक एयरलाइन्स, भिजाको झन्झटिलो प्रक्रियाले गर्दा पनि पर्यटन बजार खस्केको उनको भनाइ छ । ख्यातिप्राप्त चेन होटल मेरियटका सञ्चालक समेत रहेका अग्रवालका अनुसार अन्य देशको तुलनामा नेपालमा होटल खर्च भने निकै कम रहेको छ । पर्यटक आउने क्रम सुस्त भइरहेकै बेला अहिलेको आन्दोलनले पर्यटक आउने क्रम लगभग ठप्पै बनाएको अग्रवालको भनाइ छ ।
यो दशैँको समयमा नेपालमा धेरै मात्रामा भारतीय पर्यटकहरु आउँथे । तर, यो वर्ष त्यो सम्भावना टरेको छ । ‘कुनै पनि देशका नागरिक अन्य देशमा आनन्द लिन, घुम्न, रमाउन जान्छन् । तर, त्यहाँ केही न केही अवरोध सुन्दावित्तिकै मानिस आउन चाहँदैनन् । त्यसमाथि अहिले त झन् खराबै स्थिति छ ।’ उनी भन्छन् ।
पर्यटन क्षेत्रकै कुरा गर्दा पुराना होटलहरु पनि समस्यामा छन् नै तर, विशेष गरेर नयाँ खुलेका होटलहरु झनै ठूलो मारमा थिए । बैंकको ब्याजको भार खेप्दै आएका होटल व्यवसायहरुमाथि पछिल्लो जेनजी आन्दोलनले ठूलो झट्का दिएको छ । नेपालका लागि अहिलेको समय पर्यटकको सिजन भनियता पनि यहाँ बाह्रैमास पर्यटकका लागि उपयुक्त वातावरण भएको अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘नेपालमा सिजन र अफ सिजन भनेर एउटा भाष्य निर्माण गरिएको छ । तर, काठमाडौंसहित वरिपरीका स्थानहरुमा न त अति जाडो नै हुन्छ न त अति गर्मी नै हुन्छ । ’ यद्यपी, यसबारे मार्केटिङ राम्रोसँग गर्न नसकिएको उनी स्वीकार गर्छन् । निजी क्षेत्रसहित सरकारी तवरबाट यहाँको वातावरणबारे राम्रो मार्केटिङ गरियो भने आउँदा दिनहरुमा पर्यटक भित्रिने संख्या सशक्त हुने अग्रवालको भनाइ छ ।
अब कसरी अघि बढ्छ पर्यटन क्षेत्र
नेपालको पर्यटन क्षेत्रले यसभन्दा अगाडि पनि ठूला-ठूला समस्या नझेलेको भने होइन । नाकाबन्दी, भूकम्प, कोभिड मात्र नभइ बेला बेला भएका ठूला ठूला आन्दोलनहरु पनि पर्यटन क्षेत्रले झेल्दै आएको हो । त्यसैले अहिलेको आन्दोलनबाट अब निजी क्षेत्र वा पर्यटन क्षेत्रको जग पुनः बस्नै नसक्ने गरी भने नढलेको अध्यक्ष अग्रवाल बताउँछन् । पछिल्लो समय श्रीलंकाको उदाहरण दिँदै अब हामीले पनि अन्य देशबाट सिकेर कसरी छिटो भन्दा छिटो लयमा फर्कने भन्नेमा लाग्नुपर्ने उनको भनाइ छ । यसका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, यसमा लागेका उद्योगी व्यवसायीहरुले संयुक्त प्रयास गर्नुपर्ने देखिन्छ । यसका लागि राज्य र सरकारको पनि ठूलो साथ भने पक्कै पनि आवश्यक हुन्छ ।
अध्यक्ष अग्रवालको दृष्टिकोणमा पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन दुई कुरा महत्वपूर्ण हुन्छन् । अहिले जति पनि होटललगायतका संरचनाहरु ध्वस्त भएका छन्, त्यसलाई पुनस्थापना गर्नका लागि सरकारको सहयोग हुनपर्यो । अर्को भनेको, नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने म्यासेज दिन राज्यको ठूलो दायित्व हुनुपर्छ । यसका लागि विभिन्न सञ्चार माध्यमहरुको प्रयोग गर्ने, अन्तर्राष्ट्रिय मिडियाहरुलाई बोलाएर कन्फिरेन्स गर्ने, पर्यटन बोर्डले ठाउँ ठाउँमा गएर रोड सोहरु आयोजना गर्न सकिने र आफूहरुले सरकारबाट यही अपेक्षा गरेको उनी बताउँछन् ।

हरेक नेपालीको मनमा अथिति देवो भव भन्ने सद्भाव रहेकै हुन्छ । उनी भन्छन् , ‘भवितव्यमा कहिले कोही पर्ला त्यो फरक कुरा हो तर नेपालले कहिल्यै पनि पर्यटनलाई लक्षित गरेर दुव्र्यवहार गरेको इतिहासमा नै छैन ।’
पटक पटक देशमा हुने परिवर्तनको भागिदार निजी क्षेत्र बन्नु परेको छ । गत चैत १५ गतेको राजवादीको आन्दोलनमा पनि भाटभटेनी तोडफोड भए, लुटिए । अहिलेको जेन्जी आन्दोलनले देशको सत्ता मात्र पल्टिएन, निजी क्षेत्रका लगानीमा उथलपुथल नै ल्याइदियो । हामीले देशप्रति निजी क्षेत्रको योगदान, रोजगारी सिर्जनामा यसको भूमिकाबारे आम जनमानसमा बुझाउन नसकेको हो त ? भन्ने जिज्ञासामा अग्रवाल भन्छन्, ‘यो कुरा जायज नै हो । हामीहरुले आन्दोलनका पक्षधरका प्रतिनिधिहरु बोलाएर निजी क्षेत्र भनेको के हो ? यो कसरी सञ्चालित हुन्छ ? कसरी पर्यटन व्यवसाय, होटल व्यवसायहरुले देशका लागि योगदान पुर्याउँछन् भन्ने म्यासेज दिने प्रयास गर्छौँ । निजी क्षेत्र समुदायसँग अझैँ नजिक हुने कोशिस गर्छौँ ।’
निजी क्षेत्रलाई राज्य र समुदायले सहकर्मीको रुपमा हेर्नुपर्छ । नेपालमा लगानीका सम्भावना पनि अपार छ । नेपालमा लगानी भित्र्याउनका लागि कानूनहरु संशोधन गरेर तदारुकताका साथ राज्य लाग्नुपर्ने, तत्काल गर्नुपर्ने काम र कदमहरुमा ध्यान दिनुपर्ने अग्रवालको भनाइ छ ।
अन्त्यमा, अन्तरिम सरकारले के गर्न सक्छ
जेनजी आन्दोलनले नकारात्मक छाप मात्र होइन सकारात्मक छाप पनि छोडेको छ । नेतृत्वमा बसेकाहरु देश र जनताप्रति बफादार नहुँदा पोखिने असन्तुष्टि कतिसम्म खतरनाक हुन्छ भन्ने पाठ सिकाएको छ । जनताले सधैँ सहँदैनन् भन्ने छाप छोड्न सफल भएको छ र जनता जाग्यो भने सत्ता जोगाउन र ढलाउने क्षमता राख्छन् भन्ने पुष्टि गरेको छ । विगतमा गरिएका त्रुटीहरुले सरकार ढल्यो र अन्तरिम सरकार गठन भयो । अब यो अन्तरिम सरकारलाई विगतबाट पाठ सिक्दै अघि बढ्ने मौका मिलेकोले छोटो समयमा पनि थुप्रै कामहरु गर्न सकिने सम्भावना रहेको अग्रवाल बताउँछन् ।
जनतामा किन आक्रोश, असन्तोष पैदा भयो, किन देशको विकास भएन, किन आर्थिक उन्नति भएन भन्ने बारे अन्तरिम सरकार छर्लङ्ग छ । त्यसैले यसलाई केन्द्रमा राखेर ६ महिनाकै अवधिमा पनि एउटा आधार तय गर्न यो सरकार सक्षम रहनेमा उनी विश्वस्त छन् ।
प्रतिक्रिया दिनुहोस