२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिड्नुपर्ने

मंगलवार , आश्विन ७, २०८२

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् ।

बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ रहेको भए पनि जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने भएकाले सेवा पाउन मुस्किल पर्छ। बर्थिङ सेन्टर पुग्न दुई घण्टाको पैदल जानुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प नरहेको स्थानीय बताउँछन् । गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने सरकारी मान्यता भए पनि त्यहाँ लागू हुन सकेको छैन । त्यहाँ यातायातको सहज पहुँच नहुँदा गर्भवतीलाई ‘स्टेचर’मा बोकेर स्वास्थ्य संस्थामा पुगाउनुपर्ने बाध्यता छ ।

कतिपय गर्भवती बाटोमा नै सुत्केरी भएर फर्काउन बाध्य भएको त्यहाँकी स्वास्थ्य स्वयंसेविका विमला बमले सुनाइन् । “केहीलेकाँही नवजातशिशुहरु बाटोमा नै जन्मिएका छन्, बाध्यता छ के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन,” उनले भनिन्, “बर्थिङ सेन्टर पुग्न दुई घण्टा पैदल जार्नुपर्छ यातायातको सुविधा छैन ।”

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा अभियान चलाएको छ । नियमित चारपटक गर्भजाँच गर्नुपर्ने र त्योबापत ७०० सय समेत दिने व्यवस्था गरेको छ। सुत्केरी स्वास्थ्य संस्थामा गराएबापत तीन हजार यातायात खर्चस्वरुप पाउने प्रावधान पनि छ । तर त्यहाँका गर्भवतीहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन नै पाएका छैनन् ।

“कच्ची सडक छ हिउँदमा त एम्बुलेन्स आउँछ जसोतसो स्वास्थ्य संस्थामा पुगिन्छ ।” स्थानीय रेखा विकले भनिन्, “नियमित चेकजाँचका पनि हामीले दुई घण्टा पैदल जानुपर्छ ।”

उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ । उक्त क्लिनिकमा एक जना अनमी, अहेब र एक जना कार्यालय सहयोगी छन् । क्लिनिकमा कार्यरत अनमी ममता महता सुत्केरी बिदामा गएपछि पुनः हाजिर भएकी छैनन् ।

उनले काज मिलाएर अन्तै गएपछि त्यहाँका बालबालिकालाई खोप र भिटामिन खुवाउन समेत समस्या भएको छ । अहिले खोप र भिटामिनका लागि ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको गाउँघर क्लिनिकमा अहेब नारायण बोहराले जानकारी दिए।

“यहाँ बाटोको समस्या छ, सुत्केरी हुन स्टेचरमा बोकेर पाँच किलोमिटर टाढा लग्नुपर्ने बाध्यता छ,” बोहराले भने, “यहाँ त खानेपानीको सुविधा समेत छैन म घरबाट पानी बोकेर आउँछु ।”

उनका अनुसार उक्त क्लिनिकमा कार्यरत अनमी सुत्केरी बिदामा गएको डेढ वर्ष भइसकेको छ । उनको स्थानमा अर्को कर्मचारी नखटाउँदा बालबालिको खोप र गर्भवती जाँचमा निकै समस्या हुने गरेको छ ।

“ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट दुई घण्टा पैदल आएर यहाँ खोप सेवा दिनुपरेको छ, पालिकाले अर्को कर्मचारी खटाएको छैन,” उनले भने, “पालिकामा धेरै पटक आग्रह गरेका छौँ अब पठाउनु हुन्छ होला ।”

उनका अनुसार दैनिक २५/३० जना सेवाग्राही आउने गरेका छन् । यहाँका स्थानीयले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी हुन पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै रहेको यो बस्तीमा विकासका आधारभूत सुविधाबाट वञ्चित छ । यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट