२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जेनजी आन्दोलनको असर : विध्वंसपछि पुनःउठ्दै निजी क्षेत्र

मंगलवार , आश्विन ७, २०८२

विराटनगर । भदौ २४ को दिनभर विराटनगरसहित देशका थुप्रै सरकारी र निजी भवनहरू कालो धुवाँले ढाकिएका थिए । जेनजी आन्दोलनको उग्रताले स्वार्थ समूहहरूलाई सक्रिय बनायो, जसको नतिजा विराटनगरका सरकारी कार्यालयदेखि निजी व्यवसायसम्म आगो र तोडफोडको चपेटामा परे । भाटभटेनी सुपरस्टोरमा आगजनी, विराटचोकस्थित होटल नेपालीरिको दनदनी र होटल ह्यारिसनमा भएको लुटपाटले सहर त्रसित बनायो ।

विराटनगरका अनुभवी उद्योगी पवन सारडा भन्छन्, “४० वर्षको व्यवसायिक यात्रामा भदौ २४ जस्तो राज्यविहीन अवस्था कहिल्यै देखिन । ठूलो राजनीतिक आन्दोलनदेखि भूकम्प र कोभिडसम्मका कठिन क्षण हामीले भोग्यौँ, तर त्यो दिन असह्य थियो ।”

नेपालको अर्थतन्त्र सरकार, निजी क्षेत्र र सहकारीका तीन खम्बामा आधारित छ । तर, सरकार र निजी क्षेत्र दुवै आन्दोलनको प्रत्यक्ष निशानामा परे । कोशी प्रदेशका उद्योगीहरू अहिले पनि त्यसको असर भोगिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार, “हरेक राजनीतिक लडाइँको घाउ निजी क्षेत्रमै गहिरो पर्छ । यसपटक पनि मनोबलमा ठूलो प्रहार भयो । तर हामी फेरि उठ्ने संकल्पसहित अघि बढिरहेका छौँ ।”

राउतका अनुसार सरकारले निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्न तत्कालीन दायित्व पूरा गर्नुपर्छ । “सबैभन्दा पहिले अन्तरिम सरकारले तोकिएको मितिमा चुनाव गराएर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । स्थापित दलसँग संवाद गरी समयमै निर्वाचन सुनिश्चित गर्नु जरुरी छ, नत्र फेरि अस्थिरता बढ्छ र अर्थतन्त्र कमजोर हुन्छ,” उनले भने ।

उनले नवनियुक्त मन्त्रीहरूलाई निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्न आग्रह गरे । ऊर्जा मन्त्री कुलमान घिसिङको बिजुलीको डेडिकेटेड लाइनसम्बन्धी निर्णयलाई लिएर उनले निजी क्षेत्रसँग समन्वय र समयसीमा सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिए ।

उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडा पनि लगानी वातावरणबारे चिन्तित छन् । “हाम्रो पुस्ताले नेपालमै उद्योग स्थापना ग-यौं, तर विदेश पढेका युवाले यहाँ के भविष्य देख्लान् ? सुरक्षा नभए लगानी आउँदैन” उनी भन्छन् । सारडाले सरकारले निजी लगानी सुरक्षित राख्ने र व्यवसाय सञ्चालनलाई स्थायी संरक्षण दिनुपर्ने जोड दिए ।

त्यस्तै विराटनगरका उद्योगी महेश जाजू भदौ २३ र २४ का घटनाले निजी क्षेत्रलाई चोट पुर्याए पनि देश छिट्टै उभिन थालेकोमा आशावादी छन् । “विध्वंसको दृश्य विश्वले देख्यो, अब खरानी पन्छाएर अघि बढिरहेको पनि संसारले देखिरहेको छ । विगतको पीडा बिर्सेर मात्र भविष्य निर्माण सम्भव छ,” उनले भने ।

जाजूका अनुसार अब मुलुकले राजनीतिक होइन, आर्थिक क्रान्तिको बाटो समात्नुपर्छ । “देश सुचारु भएपछि दुई दिनअघि केही भएको थिएन जस्तो लाग्छ । अब स्थिरता चाहिन्छ । समयमै चुनाव भएर निर्वाचित सरकार आएपछि मात्र सबैकुरा ट्रयाकमा फर्किन्छ,” उनले जोडे ।

उनले भारतको उदाहरण दिँदै भने, “बिहारमा शान्ति–सुरक्षा कमजोर भएकै कारण उद्योग विस्तार हुन सकेको छैन । तर उत्तर प्रदेशमा शान्ति मजबुत भएपछि उद्योग बढेका छन् । नेपालमा पनि शान्ति र सुरक्षाको प्रत्याभूति हुनुपर्छ, नत्र नयाँ लगानी भित्रिँदैन ।”

भदौ २४ को हिंसात्मक आन्दोलनले नेपाललाई गहिरो घाउ दिएको छ । तर निजी क्षेत्रका उद्योगीहरूका अनुसार मुलुक अब खरानीबाट उक्लँदै छ- स्थिर राजनीतिक वातावरण, समयमै निर्वाचन र सुरक्षाको ग्यारेन्टी भए मात्रै यो घाउ पूर्ण रूपमा निको हुने उनीहरूको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट