काठमाडौं । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार एभिन्यूज टेलिभिजनका क्यामरापर्शन सुरेश रजकलाई मरणोपरान्त प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले मंगलबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले स्वर्गीय सुरेश रजकका परिवारलाई हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान हस्तान्तरण गरे ।
गत २०८० चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा आगजनीमा परेर सुरेशको निधन भएको थियो ।

कार्यक्रममा सञ्चारमन्त्री खरेलले अरुको अधिकारका लागि लड्ने पत्रकार आफै जोखिममा रहेर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले आफ्नो कर्म गर्दा गर्दै ज्यान गुमाउनुपरेका सुरेशलाई न्याय दिने गरि सरकारले काम गर्ने प्रतिवद्धता जनाए । मन्त्री खरेलले सुशासनका सन्दर्भमा सरकार गम्भीर भएकार लाग्ने जिकिर गरे ।
विसं २०६३ असोज ७ गते समाचार संकलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले एक लाख रुपैया राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस