काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने बताएका छन् ।
मंगलबार प्राधिकरण पुगेर पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई प्राधिकरणले कार्यान्वयन गर्ने बताएका हुन् । यसका लागि पहिला भएको निर्णयलाई अध्ययन गरि पुनरावलोकन गरिने उनको भनाइ छ ।
उनले आन्तरिक संरचना सुधार गर्दै प्राधिकरणलाई अघि बढाउन दिर्घकालीन योजना बनाइने, २४ सै घण्टा विधुत आपूर्ति लगाएतमा ध्यान दिने धारणा राखे ।
त्यस्तै कर्मचारीले गरेको स्वागत कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सिलवालले जस्तोसुकै चूनौति आएपनि त्यसलाई पार गर्दै अघि बढ्ने बताए । उनले प्राधिकरणमा लामो समय नेतृत्वमा रहेका व्यक्ति नै अहिले ऊर्जामन्त्रीमा रहेकाले काम गर्न कुनै कठिन नहुने र अहिलेको अवसरलाई प्रयोग गर्नुपर्ने उल्लेख गरे । आफुले राजनीतिक नियुक्तिको अर्थ बुझेको भन्दै उनले जति समय प्राधिकरणमा रहेपनि सुधार गरेर नै विदा लिने बताए ।
उनले आफु फोटो टास्नका लागि नभइ काम गर्नका लागि प्राधिकरणमा आएको धारणा समेत राखे । अन्तरिम सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस