चितवन। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक मंगलबार साँझ गएको ठुलो सुख्खा पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा बन्द भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार साँझ करिब ४:५० बजे पहिरो खसेपछि दुवै तर्फको सडक अवरुद्ध बनेको हो। कार्यालयले पहिरो पन्छाउने कार्य भइरहेको तर आज दिनभरजसो समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
कार्यालयले तनहुँको खैरेनीटार हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट मार्गलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सकिने जनाएको छ। दमौली–खैरेनीटारबाट बायाँ मोडिएर भीमाद–मानपुर हुँदै साना सवारीसाधन गन्तव्यसम्म पुग्न सक्नेछन्।
मुग्लिनदेखि खैरेनीटारसम्मको दूरी ७० किलोमिटर छ। खैरेनीटार–भीमाद कालोपत्रे ७ किलोमिटर, भीमाद–मानपुर कच्ची सडक ३५ किलोमिटर, मानपुर–डेढगाउँ कालोपत्रे ४० किलोमिटर र डेढगाउँदेखि नारायणगढसम्म ७० किलोमिटर रहेको छ।
यात्रुहरूलाई आवश्यक सूचना तथा जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल (मो. ९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (मो. ९८५५०९२२००) र सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (मो. ९८५५०९२२१८) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस