तनहुँ । तनहुँ कारागारमा अझै १४० कैदबन्दी फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको छ । चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालयले हालसम्म १८७ कैदीबन्दी नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरार कैदीबन्दीले समाजमा असुरक्षा बढाएका छन् । कारागारमा रहेका ३२७ मध्ये हालसम्म १८७ कैदीबन्दीलाई मात्र नियन्त्रणमा लिन सकिएको छ भने बाँकी फरार रहेका जेलर टेकप्रसाद भट्टराईले जानकारी दिए।
कार्यालयले फरार कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ कारागारबाट भागेका वा भगाइएका कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म जिल्ला कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।
फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल, तनहुँले आइतबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, “निर्धारित मितिसम्म सम्पर्कमा नआए कारागार ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ । साथै फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
कारागार प्रशासनले फरार कैदीहरूको अवस्थाबारे जानकारी हुने परिवार, समुदाय, नागरिक समाज, पत्रकार तथा व्यवसायीलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने उल्लेख गरेको छ । फरार कैदीबन्दीबारे जानकारी भएमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानु तथा कारागार कार्यालयका सम्बन्धित पदाधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसका लागि कारागारले सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५६००११११, जिल्ला प्रहरी कार्यालयलाई ९८५६०९०२९८, ९८५६०९०१७८ वा ०६५–५६३१९९, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुलाई ९८५१२७२०९९, सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीलाई ९८५६०६५७४० र कारागार प्रशासकलाई ९८५६०८४७७७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस