इलाम । लगातारको वर्षापछि इलामका विभिन्न स्थानमा गएको पहिरोले ठूलो जनधनको क्षति भएको छ। हालसम्म २ जनाको मृत्यु पुष्टि गरिएको छ भने कम्तिमा १० जना बेपत्ता रहेका छन्। यद्यपि बेपत्ताको आधिकारिक संख्या प्रहरीले पुष्टि गर्न बाँकी छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका क्षेत्रमा घर पहिरोले पुरेको खबर आएको छ। तर कठिन भूगोलका कारण उद्धार टोली घटनास्थलसम्म पुग्न र तथ्यांक संकलन गर्न नसकेको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–६ घोसस्थित डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा उनका दुई बालबालिकाको मृत्यु भएको छ। सोही घटनामा तीन जना बेपत्ता छन्। घटनास्थलमा स्थानीय तथा सुरक्षाकर्मीले खोज तथा उद्धार जारी राखेका छन्। घाइते दुई जनालाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको स्थानीय युवा रेवज तामाङले बताएका छन्।
यस्तै माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता भएका छन्। सन्दकपुर गाउँपालिका–३ सुलुबुङ मा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन्। यस्तै माङ्सेबुङ गाउँपालिका मा समेत पाँच जना हराइरहेको प्रहरीले जानकारी दिएको छ।
यता इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पहिरो र बाढीले व्यापक क्षति पुर्याएको बताए। वर्षा रोकिएकोले बिहानैदेखि उद्धार कार्य सुरु भएको उनको भनाइ छ।
प्रहरी र स्थानीय तहको सहकार्यमा उद्धार सञ्चालन जारी छ भने बेपत्ताको खोजी व्यापक बनाइएको सम्बन्धित निकायहरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस