काठमाडाैँ । हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलले प्राप्त गरेको छ। सोमबार राति रेडक्रसको मध्यस्थतामा हमासले विपिनसहित चार जनाको शव इजरायली पक्षलाई बुझाएको हो।
टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले विपिन जोशी, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको जनाएको छ। शव तेलअभिभस्थित सैनिक अस्पतालमा ल्याइएका छन्।
नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितले विपिनको शव प्राप्त भएको पुष्टि गरेका छन्।
चारै शव पहिचानका लागि तेलअभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगिएको छ। डीएनए परीक्षणपछि औपचारिक पहिचान गरी परिवारको जिम्मा लगाइने तयारी छ।
पहिचान प्रक्रियापछि विपिनको शव नेपाल पठाउने तयारी सुरु हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस