काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कविताले विवाद निम्त्याएको छ। सोमबार राति पोस्ट गरिएको कविता छैटौँ हरफमा किसानलाई ‘फोहोरी’सँग तुलना गरेको भन्दै आलोचना भएको हो।
‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’ शीर्षकबाट सुरु भएको कवितामा बालेनले लेखेका छन्–
“जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर।”
यही पंक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा श्रमिक र कृषकमाथि अपमानजनक टिप्पणी गरेको भन्दै आलोचना भईरहेको छ । धेरैले उनको किसानप्रतिको दृष्टिकोण पहिलेदेखि नै नकारात्मक भएको जिकिर गरेका छन्। सामाजिक सञ्जालमा उनको कविता उद्धृत गर्दै समर्थन र विरोध दुवै प्रकारका टिप्पणी भइरहेको देखिन्छ।
कविताको बाँकी भागमा सत्यको स्वरूप र पहिचानबारे रूपक प्रयोग गरिए पनि किसानसम्बन्धी प्रयोगले विवादलाई मुख्य केन्द्रमा ल्याएको छ।
यस्तो छ उनको कविता-
सत्यको कुनै एउटा पहिचान
कुनै नाम हुँदैन।
मिथ्याजस्तो ठूलो अभिमान,
कुनै शान हुँदैन।
जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर।
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण।
सत्यको कुनै दाम हुँदैन,
सत्यको दुवै कान हुँदैन ,
समर्पण हुन्छ , दान हुँदैन ,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन, नाम हुँदैन।
प्रतिक्रिया दिनुहोस