विराटनगर । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार विकास गर्ने उदेश्यले विराटनगरका युवाहरुले सामुहिक लगानीमा विराट स्पोर्टस जोन सञ्चालनमा ल्याउने भएका छन् । ५ करोड लगानीमा निर्माण भएको स्पोर्ट्स जोन यही मंसिर २७ गते देखि औपचारिक रुपमा सञ्चालनमा आउने जनाईएको छ ।
३० कट्ठा क्षेत्रफलमा विस्तार गरिएको संरचनाले प्रदेशकै समग्र खेलकुद क्षेत्रमा नयाँ मानक स्थापित गर्ने अध्यक्ष हरि बजगाईले जानकारी दिए । स्पोर्ट्स जोनका लगानीकर्तामा बजगाई, नवराज काफ्ले, राज ढकाल, अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेति रहेका छन् ।

सामुहिक नेतृत्वमा विराट स्पोर्ट्स जोनलाई सुरक्षित, आकर्षक र अन्तराष्ट्रिय स्तरको खेलकुद केन्द्रका रुपमा विस्तार गर्ने सचिव नवराज काफ्लेले जानकारी दिए । उनका अनुसार स्पोर्ट्स जोनभित्र फुटसल, क्रीकसल, स्केटिङ, गो–कार्ड, ब्याडमिन्टन, पिकल बल, टेबल टेनिस सञ्चालन हुनेछन् ।
यसबाहेक अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमी स्पोर्ट्स जोनको प्रमुख आकर्षक रहेको काफ्लेले जानकारी दिए ।

आधुनिक भौतिक संरचना, योग्य प्रशिक्षक र व्यवस्थित प्रशिक्षण सुविधासहित क्रिकेट प्रतिभा विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको अध्यक्ष बजगाईले बताए । उनका अनुसार फुटबल प्रशिक्षण, तेक्वान्दो प्रशिक्षण र स्केटिङ प्रशिक्षण सहित अनुभवी प्रशिक्षकहरुको निर्देशनमा कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गरिनेछ ।
स्पोर्ट्स जोनमा २५ जना भन्दा बढी कर्मचारी रहेको कोषाध्यक्ष राज ढकालले जानकारी दिए । जोनमा खेलकुदमैत्री वातावरण सृजना गर्ने उदेश्यले क्याफे सञ्चालनमा ल्याईएको र क्याफेमा पूर्ण रुपमा शाहाकारी तथा स्वास्थ्य अनुकूल भोजन उपलब्ध गराउने ढकालले बताए ।

कोषाध्यक्ष ढकालका अनुसार विराट स्पोर्ट्स जोनले आगामी दिनमा स्वीमिङ पुल, इन्डोर गेमिङ जान लगायतका थप आधुनिक खेलकुद पूर्वाधार निर्माण गरी संरचनालाई अझ ब्यापक बढाउन दीर्घकालीन योजना अघि सारेको छ ।






प्रतिक्रिया दिनुहोस