जनक कडेल/जापान ।
कास्की पोखरा समाज जापान र जापानको कोमागाने सहरका मेयरबीच आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ। यस छलफलमा नेपाल र जापानबीच सामाजिक, स्वास्थ्य र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा कुराकानी गरिएको थियो।
छलफलका क्रममा पोखरास्थित मितेरी अस्पताललाई सहयोग गर्न ‘फुरुसातो नोजेई’ प्रणालीमार्फत सहयोग संकलन गर्ने, कोमागाने सहरमा नेपाली पहिचान झल्किने ‘नेपाली चौतारी’ निर्माण गर्ने र केयरगिभर आदान–प्रदान (एक्सचेन्ज) कार्यक्रम सञ्चालन गर्ने विषयमा चर्चा भएको थियो।
कार्यक्रममा कोमागाने सहरका मेयर इतो युजो, एनआरएनए आईसीसी उपाध्यक्ष तथा कास्की पोखरा समाज जापानका संरक्षक रोबिन शेरचन, समाजका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष बिस्सु भण्डारी, निवर्तमान अध्यक्ष सन्देश अधिकारी लगायतको उपस्थिति रहेको थियो।
सहभागीहरूले यस्ता सहकार्यले नेपाल–जापानबीचको सम्बन्ध अझ बलियो बनाउने र दुवै पक्षलाई फाइदा पुग्ने बताएका छन्। छलफलमा उठेका विषयलाई आगामी दिनमा व्यवहारमा उतार्ने तयारी गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस