२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

मुगुमा अत्याधिक चिसोका कारण आगो तापेर पढ्दै विद्यार्थी

सोमवार , मंसिर २९, २०८२

मुगु । जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्याधिक चिसोका कारण पठनपाठन प्रभावित भएको छ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षा कोठामा बस्न नसकी खुला चाैरमै आगो बालेर ताप्दै अध्ययन गर्न बाध्य भएका छन् ।

कक्षा कोठामा आगो बाल्दा दुर्घटनाको जोखिम हुने भएकाले खुला स्थानमा धुनी जगाएर त्यसकै तातोमा विद्यार्थी पढाउने गरिएको विद्यालयले जनाएको छ ।

भौगोलिक अवस्थाका कारण विद्यालयमा बिहान करिब ८ बजे मात्र घाम लाग्ने र दिउँसो करिब १ बजेपछि घाम पूरै अस्ताउँछ । घाम अस्ताएसँगै कडा चिसो बढ्ने गरेको विद्यालय प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कक्षा कोठामा अध्ययन–अध्यापन कठिन भएपछि आगो बालेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

हाल उक्त विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । जाडो मौसम झन् बढ्दै जाँदा विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउनुका साथै पठनपाठनको वातावरण झन् चुनौतीपूर्ण बन्दै गएको विद्यालयले जनाएको छ । चिसोका कारण साना कक्षाका विद्यार्थीहरू बढी प्रभावित भएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर रोकायाका अनुसार कक्षा कोठामा न्यानोपनको कुनै व्यवस्था छैन ।

झ्यालढोका जीर्ण अवस्थामा हुनु, कक्षा कोठामा चिसो छिर्न नरोकिनु, तातो पानी तथा न्यानो बस्ने संरचनाको अभावले विद्यार्थीहरू समस्यामा परेका छन् । ‘न्यानो वातावरण नहुँदा बालबालिकाले ध्यान दिएर पढ्न सकिरहेका छैनन्,’ उनले भने ।

यसैगरी विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर रोकायाले चिसो मौसमका कारण विद्यार्थीको उपस्थितिमा कमी आउनुका साथै कक्षामा ध्यान केन्द्रित गर्न कठिन भइरहेको बताए । उनका अनुसार अत्याधिक चिसोले सिकाइ उपलब्धिमा नकारात्मक असर पारिरहेको छ । ‘चिसोका कारण कतिपय विद्यार्थी विद्यालय नै नआउने अवस्था छ । यसले पठनपाठनको निरन्तरतामा असर पारेको छ,’ उनले भने ।

चिसो मौसमलाई मध्यनजर गर्दै स्थानीय तह, अन्य सरोकारवाला निकायबाट तत्काल सहयोग र वैकल्पिक व्यवस्था आवश्यक रहेको उनी बताउँछन् ।

स्थानीय अभिभावकहरूले समेत चिसोका कारण विशेष गरी साना कक्षाका बालबालिकालाई विद्यालय पठाउन हिच्किचाउने अवस्था आएको गुनासो गरेका छन् । आगो ताप्दै पढ्नुपर्दा बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्ता उनीहरूको छ ।

हिमाली क्षेत्रमा चिसोको असरले बालबालिकाको स्वास्थ्य र शिक्षामा गम्भीर समस्या नआओस् भन्नका लागि विद्यालयमा न्यानो कक्षा कोठाको व्यवस्था, झ्यालढोका सुधार, वैकल्पिक सिकाइ समय निर्धारण तथा आवश्यक सामग्री उपलब्ध गराउन सरोकारवाला निकायको तत्काल ध्यान र पहल आवश्यक देखिएको स्थानीय बताउँछन् ।

पछिल्लो समय एक हप्तादेखि ह्वात्तै चिसो बढेसँगै माथिल्लो मुगुका बिभिन्न वडाहरुका सर्वसाधारण धमाधम जिल्लाको सदरमुकाम गमगढी लगायत तराई झर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट