काठमाडौं । एमाले नेता महेश बर्तौलाले प्रधानमन्त्री सुशिला कार्कीले आज (सोमबार) बोलाएको राजनीतिक दलहरुसँगको छलफल बैठकले संसद पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्यता पुष्टी गरेको बताएका छन् ।
उनले राजनितिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्रीले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वाचन हुँदैन भन्ने कुरा औपचारिक रुपमै घोषणा भएको बताए ।
उनले फेसबुकमा भनेका छन्, ‘निर्वाचनको मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ । तर राजनितिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्री ज्युले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वाचन हुँदैन र गर्दैन भन्ने कुरा औपचारिक रुपमै घोषणा भएको छ ।’
यसले मुलुकमा विद्यमान जटिल परिस्थितिको संवैधानिक निकासका लागि तत्काल संसद पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानुनी आवश्यकता मात्रै होइन व्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्यता समेत सुदृद ढङ्गले पुष्टी भएको समेत उनले बताएका छन् ।
उनले भनेका छन्, ‘खेल प्रारम्भ भएको ह्विसल बजिसकेपछि खेलाडीको अनुहार हेर्दै पाइलै पिच्छे सर्वस्विकार्यता विपरित नियमहरु अदलबदल हुन सक्दैन । त्यो खेलको स्वच्छता, निष्पक्षता र निर्भयताका लागी होइन र हुन सक्दैन ।’
प्रतिक्रिया दिनुहोस