काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले नेपाली कांग्रेसको पार्टी कार्यालयको निरिक्षण गरेको छ ।
बिभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले मंगलबार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको कांग्रेस पार्टी कार्यालयको निरिक्षण गरेको हो ।
निरिक्षणका क्रममा समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरुको साथ र सहभागीता अपरिहार्य रहेको बताए ।
सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार गम्भीरताका साथ अघि बढिरहेका उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त भएको अवस्थामा पनि दलहरुको साथ रहेको भन्दै उनले आगामी चूनाव सुनिश्चित गर्नका लागि दल र सरकारबीच दोहोरो संवादको प्रयास गरिएको धारणा राखे ।
त्यस्तै समितिका संयोजक कानूनमन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगेपनि मुलुकलाई निकास दिन दलहरुको भूमिका अपरिहार्य हुने बताए । उनले चूनावलाई सहज रुपमा अघि बढाउनका लागि दलहरुको अपेक्षा पुरा गर्न सरकार तयार रहेको उल्लेख गरे ।
छलफलका क्रममा कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी चूनावबाट नभाग्ने भन्दै निष्पक्ष र सुरक्षित तवरले निर्वाचन सम्पन्न गर्न उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । सरकारले चूनावको रटान लगाएपनि तयारीमा केहि कमजोरी भएको महशुस भएको उनले बताए ।
गुरुङले सरकारसँग सहमति गरेका युवाहरुले नै चूनाव हुन दिन्नौ भनेर हिडेको भन्दै उनीहरुलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।
त्यसैगरी उनले सुरक्षा निकायको मनोवन उच्च बनाउदै फागुन २१ लाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे । दलहरु र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस