काठमाडौं । नेकपा एमालेले राजनीतिक दल र नेताहरुलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसँगको छलफलका क्रममा एमालेले नेताहरुलाई स्थानहद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको हो ।
छलफलपछि एमाले उपमहासचिव रघुविर महासेठले आफुहरु निर्वाचनको विरोधी नभएको तर सरकारले नै निर्वाचनको उचित वातावरण बनाउन नसकेको जानकारी गराएको बताए । एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण सरकारले एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोकिएको उनले बताए ।
उनले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारे । महासेठले चूनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएको जानकारी दिए ।
त्यस्तै उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र देश चुनावमय बनिसकेको बताए । एमालेका नेताहरुले चूनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको उनले बताए । खरेलले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाइदिने सरकारले प्रतिवद्धता जनाएको धारणा राखे ।
त्यस्तै उनले कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्ने बताए । निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागलाई सरकारले बेवास्ता नगर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस