काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गरेका थिए ।
रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग गरिएको छ। गत भदौ २३–२४ को जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरेर फागुन २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन गरिएको थियो।
यसअघि मंसिर १० गते नेकपा एमालेका ७५ सांसद र मंसिर २३ गते कांग्रेसका ८ सांसदले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दायर गरेका थिए।
मंगलबार दायर रिटमा कांग्रेसका ६५ सांसद, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टीका सांसद र एक स्वतन्त्र सांसदको हस्ताक्षर रहेका छन्। यसरी प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्ने सांसदको संख्या १४३ पुगेको छ, जसले २७५ सदस्यीय सभामा बहुमत पुर्याउँछ।
तर जेनजी युवा अगुवा, वैकल्पिक राजनीतिक शक्ति र नेपाली कम्युनिस्ट पार्टीले भने प्रतिनिधि सभा पुनर्स्थापना नगरी ताजा जनादेशका लागि चुनावमा जानुपर्ने माग गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस