काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी आसन्न निर्वाचन व्यापक तयारीमा जुटेसँगै देशैभरी गणतन्त्रवादी राजनैतिक दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ता तथा गणतन्त्रवादी समुहबाट आफ्ना कार्यकर्ताहरुमाथि भैरहेको सांघातिक आक्रमण भईरहेको भन्दै आपत्ति जनाएको छ ।
२०८२ पौष ५ गते रुकुम (पश्चम भाग) बाँफिकोट गाउँपालिका वडा नं.-०४ सिम्तारुमा आयोजित राप्रपाको चुनावी कार्यकर्ता प्रक्षिण कार्यक्रममा सहभागी भई घर फर्किँदै गर्दा बाँफिकोट गाउँपालिका वडा नं.-०७ का राप्रपाका साधारण सदस्य दिपाराम खनालमाथि वडा नं.-०७ दुलिङ्गमा सांघातिक आक्रमण भएको राप्रपा रुकुम पश्चिमले बताएको छ ।
खनालले २०८२ असार देखि पार्टीको सदस्यता लिई सक्रिय रुपमा काम गर्दै आएका थिए ।
कुनै पनि राजनीतिक दलमा आवद्ध भई राजनीति गर्न पाउने जोकोहि नागरिकको संविधान प्रद्धत हक रहेको र सो बमोजिम शान्तिपूर्वक चुनाव केन्द्रत आफ्ना राजनीतिक गतिविधि गरिरहेका कार्यकर्ताकहरुमाथि सांघातीक आक्रमण गरेको भन्दै राप्रपा रुकुम (पश्चिम भाग) ले उक्त घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषी पत्ता लगाई पक्राउ गर्न र आक्रमणमा परी घाइते भएकाको उपचारको व्यवस्था गर्न साथै घटनामा संलग्नलाई कडा कारबाही गर्न राप्रपाले जोडदार माग गरेको छ ।
विगतदेखि नै निरन्तर आफ्ना निर्दोष कार्यकर्ताहरुमाथि कुटपिट तथा सांघातिक आक्रमण भईरहेको तर प्रहरी प्रशासनले कारबाहीमा कुनै चासो नदेखाईरहेको हुँदा हालसम्म कसैलाई पनि छानबिन तथा कारबाही नगरेका प्रति राप्रपा (रुकुम पश्चिम) ले दुःख समेत व्यक्त गरेको छ ।
नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेले राप्रपाका नेता कार्यकर्तालाई राजनीतिक गतिविधि नगर्न दिएको दबाब अस्वीकार गर्दा, त्यी दलहरुका युवा संगठनका समुहले दिपाराम खनाललाई निर्घात कुटपिट गरेपश्चात उनीहरुको अर्को समुहले घाईतेको परिवारमाथि समेत आक्रमणको प्रयास तथा धम्कि दिई गरेको व्यवहार घृणित, लज्जास्पद र दुःखदायी रहेको राप्रपाले भनेको छ ।
‘राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता सहित भईरहेका राजनैतिक गतिविधि, कार्यक्रम र घरदैलो गर्दै मतदाता सामु गईरहँदा राप्रपाका कार्यकर्तालाई बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र लछारपछार गर्ने र मरनासन्न हुने गरी कुटपिट गर्ने जस्ता गैर-कानुनी, असंवैधानिक, अमानविय तथा मानवअधिकारको गम्भिर उलंघन भएको राप्रपा रुकुम पश्चिमको ठहर छ ।
साथै राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन प्रहरी प्रशासन, सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
गणतन्त्रमा पनि सुरक्षित छैनन् राप्रपाका नेता कार्यकर्ता
'विपक्षी पार्टीप्रति गणतन्त्रवादी दलहरु तथा तीनका विभिन्न संगठन/समुहहरुबाट आक्रमण बढ्दो छ । स्थानीय स्तरमा काम गर्ने साधारण पार्टी कार्यकर्ता तथा परिवारका सदस्यहरु समेत जोखिममा पर्ने गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकार उदासिन, प्रहरी प्रशासन मौन देखिन्छ । राजनैतिक घटना भन्दै प्रहरीमा पिडितका उजुरी दर्ता तथा सुनुवाई हुँदैनन्' राप्रपाले भनेकाे छ ।
प्रतिक्रिया दिनुहोस