विराटनगर । कोसी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद अधिवेशन टार्न खोजेको आरोप लगाएको छ ।
दलका नेता इन्द्रबहादुर आङ्बोले पूर्वाधार अभावको बहाना बनाएर सरकारले संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको दाबी गरेका छन् ।
विराटनगरमा संसदीय पत्रकार मञ्चसँग कुरा गर्दै नेता आङ्बोले भदौ २३ र २४ गतेको घटनापछि क्षतिग्रस्त भएको प्रदेश सभा भवन मर्मतमा सरकारले तीन महिनासम्म चासो नदेखाउनु रहस्यमय भएको बताए । विपक्षीले उठाएका भ्रष्टाचार, बेथिति र अनियमितताका प्रश्नबाट भाग्न मुख्यमन्त्रीले हिउँदे अधिवेशन आह्वान गर्न ढिलाइ गरेको उनको आरोप छ ।
उनले सरकारका मन्त्री र सचिवालयभित्रै चरम आर्थिक अनियमितता र अराजकता मौलाएको दाबी गरे । मुख्यमन्त्री कार्यालयबाटै क्यूआर कोडमार्फत पैसा उठाइएको, स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवामा मन्त्रीका स्वकीय सचिवहरूको चलखेल भएको जस्ता विषय बाहिर आएकाले सरकार नैतिक संकटमा परेको उनको भनाइ छ ।
‘मन्त्रीहरूले सचिवको गाडीको साँचो खोस्ने, मान्छे कुट्ने जस्ता अशोभनीय गतिविधि गरिरहेका छन्,’ आङ्बोले भने, ‘यी सबै विषयको जवाफ मुख्यमन्त्रीले संसदको रोष्ट्रममा उभिएर दिनुपर्छ, तर उहाँ जवाफदेहिताबाट भागिरहनुभएको छ ।’
सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गर्दै उनले लगानी सम्मेलन र पर्यटन वर्षजस्ता कार्यक्रम प्रचारमै सीमित भएको बताए । साउनदेखि नै सरकार पुनर्गठनको चर्चा चले पनि मन्त्री फेर्न नसक्नुले मुख्यमन्त्री आफ्नै दल र गठबन्धनभित्र कमजोर बनेको उनको तर्क छ ।
आङ्बोले सरकारले आफ्नै नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नसकेको र संसदमा उठेका प्रश्नको जवाफ दिने हैसियत गुमाएको आरोप लगाए । जेन्जी आन्दोलनपछिको शान्ति सुरक्षा अवस्था र समाजमा फैलिएको त्रासबारे छलफल गर्ने प्रमुख थलो संसद नै भए पनि सरकारले त्यसलाई उपेक्षा गरेको उनले बताए ।
‘आफूलाई जन्माउने संसद भवनकै पुनर्निर्माणमा तीन महिनासम्म चासो नदिने सरकारले बाँकी प्रदेशको विकास गर्छ भनेर कसरी विश्वास गर्ने ?’ भन्दै उनले प्रश्न गरे । संवैधानिक बाध्यताका कारण छ महिनाको समयसीमा टार्न मात्रै अधिवेशन बोलाउने प्रवृत्तिको विरोध गर्दै उनले तत्काल संसद सुचारु गर्न सरकारसँग जोडदार माग गरे ।
प्रतिक्रिया दिनुहोस