काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश निर्वाचनमय भएको बताएका छन् ।
नेशनल प्रेस क्लव नेपालले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री खरेलले राजनीतिक दल, मतदाता सवै निर्वाचनका लागि तयार रहेको र सरकारले पनि आवश्यक वातावरण बनाएकाले देश निर्वाचनमय भएको बताएका हुन् । निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध सरकारले गरिसकेको उनले बताए ।
मन्त्री खरेलले बिभिन्न राजनीतिक दलसँगको छलफलमा पनि निर्वाचनमा सहभागी हुने प्रतिवद्धता आएकाले सरकार थप उत्साहित भएर तयारीमा जुटेको बताए । उनले सरकार निर्वाचनका साथै भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न केन्द्रीत रहेको धारणा राखे ।
भ्रष्टाचारको अनुसन्धान गर्ने निकायहरुलाई राज्यको तर्फबाट कुनै हस्तक्षेप नगरिएको भन्दै मन्त्री खरेलले पहिलो समयमा भ्रष्टाचारका धेरै मुद्दाहरु दर्ता भएको उल्लेख गरे ।
फरक प्रसंगमा उनले आफुहरु मन्त्री भएको ६० दिनभित्रै सम्पती बिवरण मन्त्रिपरिषद् कार्यालयमा बुझाएको जानकारी गराए । नियमावलीमा सम्पत्ति विवरण गोप्य रहने उल्लेख भएपनि बिगतका केहि सरकारले सार्वजनिक गर्ने गरेको उनको भनाइ छ ।
उनले अहिले भने सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने भन्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बिषय भएको बताए ।
प्रतिक्रिया दिनुहोस