२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

फागुन २१ प्रतिनिधिसभा निर्वाचन: गगन, विश्वप्रकाश र बद्री पाण्डे चुनाव नलड्ने

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन् ।

कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका हुन् । महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले निर्वाचन नलड्ने निर्णय सार्वजनिक रूपमा घोषणा गरिसकेका छन् ।

महामन्त्री थापाले भने बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीको नेतृत्व परिवर्तन नभएसम्म निर्वाचन नलड्ने स्पष्ट पारेका छन् । एक पदाधिकारीका अनुसार थापाले बैठकमा भनेका थिए, “चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने म चुनावमा जान सक्दिनँ । नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने अरू लड्नुस्, म चाहिँ लड्दिनँ ।” उनका अनुसार पार्टी नेतृत्व परिवर्तन भएमा मात्र उनी निर्वाचनमा सहभागी हुनेछन् । हाल तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने पार्टी नेतृत्व परिवर्तन भए पनि यसपटकको निर्वाचन नलड्ने स्वघोषणा गरेका छन् । कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार भइसकेकाले पुरानो राजनीतिक प्रवृत्ति तोड्न यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको जानकारी गराएका थिए । “लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक आफू उम्मेदवार नबनी अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै राखेर आएको छु,” उनले बैठकमा बताएका थिए ।

उनले शक्तिको भरमा बारम्बार उम्मेदवार बन्ने, जितेपछि मात्र होइन हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा उम्मेदवारी दिने र जीवनभर पदमा टिकिरहने प्रवृत्ति अन्त्य हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।

यसअघि सहमहामन्त्री बद्री पाण्डेले पनि गृहजिल्ला बाजुराबाट प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् । २६ मंसिरमा बसेको जिल्ला कार्यसमिति बैठकमा उनले आफू उम्मेदवार बन्न इच्छुक नरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट