काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको भेला आयोजना गरेको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि आजको भेला बोलाउने निर्णय गरिएको हो।
भेलामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार आज बिहान साढे १० बजे नयाँ बानेश्वरमा केन्द्रीय सदस्यहरू मात्र भेला हुनेछन्। यसपटक संस्थापन पक्षका शीर्ष नेताहरूलाई बोलाइएको छैन। सहभागी नेताले भने, “संस्थापन पक्षबाट जितेका २५ केन्द्रीय सदस्यको समूहलाई मात्र बोलाइएको छ।”
यसअघि पनि संस्थापन पक्षले शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक भेलाहरू आयोजना गर्दै आएको थियो। उनीहरू निर्वाचनअगावै महाधिवेशन नहुने पक्षमा अडान राख्दै आएका छन्।
यसैबीच, संस्थापन पक्षले २७ पुसका लागि युवा भेला पनि आयोजना गर्दैछ। ‘आमनिर्वाचन, १५ औं महाधिवेशन र युवाको भूमिका’ शीर्षकमा सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे भेला सुरु हुनेछ। भेला संयोजनको जिम्मेवारी नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरूङलाई दिइएको छ।
प्रतिक्रिया दिनुहोस