काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिने तयारी गरिएको छ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार महाधिवेशन स्थलको मूल गेट नजिकै रहेको स्टलबाट नाम दर्ता प्रक्रिया सुरु हुनेछ। नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयले जनाएको छ । नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।
विशेष महाधिवेशनको उद्घाटन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने तय भएको छ। उद्घाटन कार्यक्रमपछि आजै बन्द सत्र सुरु हुनेछ भने बन्द सत्रको सभापतित्व पार्टीका जेष्ठ सदस्यले गर्नेछन्।
पार्टी विधानको धारा १७(२) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन आह्वान गरेका हुन्।
यद्यपि, संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ। उनीहरूले आजकै मितिमा जिल्ला सभापति तथा युवा भेलाको आयोजना गरेका छन्।
महाधिवेशन सोमबारसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ। महाधिवेशनका लागि बाहिर जिल्लाबाट आएका प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइपुगेका छन्। उद्घाटन कार्यक्रमअघि विभिन्न स्थानबाट जुलुस निकालिने तयारीसमेत गरिएको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस