विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । कोशीमा थापाको एकल उम्मेदवारी परेको थियो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै पुगेनन् ।
निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । अन्य समूह तर्फ रिक्त एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि निर्विरोध घोषणा गरिएको सूचनामा भनिएको छ,‘एक जना मात्र उम्मेदवार कायम हुन आएकाले देहायका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु।’
कोशीमा महिला तर्फ कांग्रेस एमाले गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने उम्मेदवार छिन् । दलित तर्फ कांग्रेस एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबाट दलिततर्फ खेमराज सुन्दास उम्मेदवार छन् ।
राष्ट्रियसभाको रिक्त १८ पदका लागि देशभर माघ ११ गते निर्वाचन हुँदैछ । तीमध्ये कोशी प्रदेशबाट ३ जना निर्वाचित हुनेछन् । अन्य समूहमा परिणाम घोषणा भइसकेको छ । दलित र महिला समूहमा भने कांग्रेस–एमाले गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धामा गठबन्धनको मतभार धेरै छ ।
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३ सय ६७ मतदाता छन् । ९३ प्रदेशसभा सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।
प्रदेश र स्थानीय तह मिलाएर एमालेको ४ हजार २ सय १०, कांग्रेसको ३ हजार ६ सय ८४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहितको नेकपाको १ हजार ६ सय ४२ मतभार छ ।
कांग्रेस–एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ । यही गठबन्धनमा रहेको जसपाको १ सय २९ मतभार छ भने राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
प्रतिक्रिया दिनुहोस