विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले ३२ औँ अभिभावक दिवसको अवसरमा नेपालमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ। अभिभावक दिवसको पहिलो दिन नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थी तथा अभिभावकलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विकसित मुलुकमा दिइने स्तरको शिक्षा एभरेष्ट स्कुलबाटै उपलब्ध गराउने प्रण गरेका हुन् ।
प्रिन्सिपल पुरीले सूचना तथा प्रविधिको तीव्र विकाससँगै शिक्षा प्रणालीलाई पनि गतिशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै एभरेष्ट स्कुलले त्यसलाई व्यवहारमा उतारेको बताए । विद्यालयको भौतिक संरचनामा गरिएको लगानीसँगै विद्यार्थीको शैक्षिक उन्नयनका लागि पनि समान रूपमा लगानी गरिएको उनको भनाइ थियो। एभरेष्टका पूर्व विद्यार्थीहरू विभिन्न क्षेत्रमा सफलतापूर्वक स्थापित हुँदै गएको देख्दा गर्व महसुस भएको उल्लेख गर्दै अब विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने लक्ष्यमा विद्यालय अघि बढेको उनले स्पष्ट पारे ।

प्याब्सनका पूर्व अध्यक्षसमेत रहेका प्रिन्सिपल पुरीले स्थापना कालदेखि आजसम्म अभिभावकको विश्वास, शिक्षक तथा कर्मचारीको मेहनत र सकारात्मक शैक्षिक वातावरणकै कारण विद्यालय निरन्तर प्रगतिमा अघि बढेको बताए । “हामी बोल्ने मात्र होइन, परिणामबाट देखाउने कुरामा विश्वास गर्छौं,” उनले भने । हालै मात्र एभरेष्टका विद्यार्थीहरूले भियतनाममा सम्पन्न मुन सम्मेलन, हङकङ र चीनमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएको जानकारी पनि उनले दिए । आगामी दिनमा अझै थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा विद्यार्थीको सहभागिता सुनिश्चित भइसकेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले एभरेष्टले प्रदान गरेको शैक्षिक वातावरण प्रशंसनीय रहेको बताउँदै युगसापेक्ष जनशक्ति उत्पादनमा विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टले हासिल गरेको सफलताको श्रेय अभिभावकलाई दिँदै अभिभावकको विश्वासकै कारण विद्यालय अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने यात्रामा अघि बढ्न सफल भएको बताए । यस्तै, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले एभरेष्ट स्कुल मुलुककै अग्रणी शिक्षण संस्थाको रूपमा स्थापित हुँदै गएको धारणा व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै भाइस प्रिन्सिपल कुन्दन पुरीले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सबैको सामूहिक प्रयासले मात्र विद्यालय सफल हुने बताए ।
३२ वर्षअघि ८४ जना विद्यार्थीबाट सुरु भएको एभरेष्ट सेकेन्डरी स्कुलले हालसम्म २५ औँ ब्याचका विद्यार्थीलाई एसएलसी/एसईई उत्तीर्ण गराइसकेको छ। भाडाको घरबाट सुरु भएको विद्यालय अहिले आफ्नै जग्गामा अत्याधुनिक भौतिक संरचनासहित सञ्चालनमा छ।

प्ले ग्रुपदेखि कक्षा १२ सम्म करिब २५०० विद्यार्थीलाई अध्यापन गराउँदै आएको एभरेष्टले आउँदो शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालयको बीआईटी कार्यक्रम सञ्चालनका लागि सम्बन्धनसमेत प्राप्त गरिसकेको छ।
अभिभावक दिवसको अवसरमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यालयका अनुसार अभिभावक दिवसको दोस्रो दिन शनिबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको कार्यक्रम आयोजना हुने बिद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस