विराटनगर । नेकपा एमालेका सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले स्पष्ट एकल बहुमत हासिल गर्ने दाबी गरेका छन् । उनले पार्टीको सांगठनिक शक्ति, जनआधार र देशभर फैलिएको संरचनाका कारण एमाले पहिलो दल बन्ने ठोकुवा गरे ।
विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले पछिल्लो समय देखिएको नयाँ राजनीतिक शक्तिहरूको उदयलाई ‘अस्थायी लहर’ को संज्ञा दिए । सामाजिक सञ्जाल र केही मिडियामा देखिएको उत्साह स्थायी नभएको उल्लेख गर्दै उनले स्थापित दलहरू प्रतिको जनसमर्थन अझै मजबुत रहेको बताए ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यकाल बाँकी छँदै राजीनामा दिएर झापा क्षेत्र नम्बर–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने चर्चाप्रति टिप्पणी गर्दै ढकालले यसलाई योजनाबद्ध चाल हुन सक्ने आशंका व्यक्त गरे ।
“बालेनलाई झापा लगेर ओलीसँग भिडाउनु कतै उनकै घेराभित्रको रणनीति त होइन ?” उनले प्रश्न गरे, “प्रधानमन्त्री र दलको नेतृत्वको दबाबबाट जोगाउन खोजिएको हुन सक्छ । ओलीसँग प्रतिस्पर्धा गराउनु भनेको उनलाई राजनीतिक रूपमा कमजोर पार्नु हो ।”
ढकालले झापा–५ को चुनावी माहोल विस्तारै शान्त हुँदै जाने र भावनामा आधारित राजनीति सफल नहुने दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ दलहरूको बढ्दो चर्चालाई उनले ‘खहरेको बाढीसँग तुलना गरे । “दुई दिन बाढी आउँदा ठूलो जस्तो देखिन्छ, तर त्यसको स्थायित्व हुँदैन,” उनले भने, “यो अस्थायी लहर मात्रै हो । नेपाली जनताको स्थापित दलहरूप्रतिको विश्वास र विरासत अझै कायम छ ।”
उनले विगतमा बनेको विपक्षी गठबन्धनको घेराबन्दी अहिले कमजोर बन्दै गएको उल्लेख गर्दै एमालेले प्रत्यक्षतर्फ उल्लेख्य सिट जित्ने दाबी गरे । “पार्टीको संगठन बलियो भएकाले एकल बहुमतको सरकार गठन गर्ने आधार तयार भएको छ,” उनले भने ।
यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको फोन संवादलाई उनले सामान्य राजनीतिक प्रक्रिया भएको बताए । राजनीतिक नेतृत्वबीच संवाद हुनु स्वाभाविक रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस