काठमाडौं । नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने विषय सामाजिक सञ्जालमा चर्चामा रहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले त्यसबारे टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले उक्त घटनाप्रति दुःख मान्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले इतिहास मेटाउने प्रवृत्तिको आलोचना गर्दै विगतमा राजसंस्थासँग जोडिएका संरचना, राजमार्ग र इतिहासलाई योजनाबद्ध रूपमा हटाउने प्रयास गरिएको दाबी गरेका छन्।
शाहीले आफ्नो धारणा स्पष्ट पार्ने क्रममा एउटा पुरानो कथा पनि उल्लेख गरेका छन्। कथाअनुसार एक व्यक्तिले आफ्नी वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लैजाँदा, उनको सानो छोराले ‘डोको नफाल्नुहोस्, भोलि तपाईं बूढो भएपछि तपाईंलाई फाल्न पनि यही डोको काम लाग्छ’ भनेको प्रसंग सुनाउँदै उनले इतिहास मेटाउने कार्य अन्ततः आफ्नै विरुद्ध फर्किन सक्ने सन्देश दिएका छन्।
उनले लेखेका छन्, ‘आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ ।’
प्रतिक्रिया दिनुहोस