२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

यसरी उद्घाटन गरियो नेपालकै पहिलो आधुनिक नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । निर्माण सुरु भएको करिब ८० महिनापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरे ।

उद्घाटनसँगै सुरुङमार्ग तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला भने गरिएको छैन । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै प्रवेश दिइनेछ ।

करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सुरुङमार्गको सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन तथा अन्य प्राविधिक पक्षको मूल्यांकन गरिनेछ । परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्य वर्गका सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन गर्न दिइने आयोजनाले जनाएको छ ।

4.jpg

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइनेछ । नियमित सञ्चालनमा आएपछि भने सवारीसाधनको प्रकार र दिशाअनुसार शुल्क लाग्नेछ ।

सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ तथा बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको प्रकारअनुसार सुरुङमार्ग प्रयोग गरेबापत ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट विद्युतीय माध्यममार्फत शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर तथा तीनपाङ्ग्रे सवारीसाधनलाई प्रवेश दिइने छैन ।

यस्तै, डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई समेत सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ ।

कुल २ हजार ६ सय ८८ मिटर लामो आयोजनामा मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुईवटा सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङबाट सवारीसाधन सञ्चालन हुनेछ भने आपत्कालीन अवस्थामा उद्धार तथा सुरक्षा प्रयोजनका लागि समानान्तर उद्धार सुरुङ प्रयोग गरिनेछ ।

सुरुङमार्गमा दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, सञ्चार प्रणाली तथा अन्य सुरक्षा संयन्त्र जडान गरिएको छ । सुरुङभित्र अक्सिजनको निरन्तर प्रवाह तथा अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको आयोजनाका परामर्शदाता निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले बताए ।

3.jpg

सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ ।

नागढुंगा सडकखण्डमा हुने नियमित जाम, लामो उकालो तथा घुमाउरो बाटोका कारण हुने समय र इन्धनको खपत घटाउन सुरुङमार्ग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश तथा बाहिरिने यात्रामा करिब एक घण्टासम्म समय बचत हुने आयोजनाको अपेक्षा छ । यसले नागढुंगा सडकखण्डको यातायात व्यवस्थापनमा समेत सहजता ल्याउने विश्वास गरिएको छ ।

आयोजना निर्माणमा जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी रहेको छ । आयोजनामा करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ ।

निर्माणमा करिब १७ अर्ब रुपैयाँ, विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप करिब दुई अर्ब रुपैयाँ र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । आयोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

निर्माण सुरु गर्दा सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, कोभिड–१९ महामारी, निर्माणका क्रममा देखिएका प्राविधिक जटिलता तथा अन्य कारणले आयोजना सम्पन्न हुन करिब ८० महिना लागेको हो ।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ब्रेकथ्रु तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा भएको थियो । अहिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यकालमा आयोजना औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

नेपालको सडक पूर्वाधार विकासमा पहिलो प्रमुख यातायात सुरुङमार्गका रूपमा हेरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाकाको यातायात व्यवस्थापनमा नयाँ विकल्प थपिएको छ ।

1.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट