सुदूरपश्चिम । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी कैलालीको धनगढी उपमहानगरपालिका–७ कि ३५ वर्षीया ज्योति चौधरीको आज मृत्यु भएको छ । आत्मदाहको प्रयासपछि उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ घरभित्रै शरीरमा आगो लगाएपछि चौधरी गम्भीर घाइते भएकी थिइन् । शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएका थिए ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रिफर गरिए पनि आफन्तले उनलाई सिधै काठमाडौँ लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस