२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

पुस्तान्तरण उमेरको होइन, क्षमता र जिम्मेवारीको हस्तान्तरण हो : इन्द्रकुमार भुषाल

सोमवार , श्रावण ११, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता इन्द्रकुमार भुषालले पुस्तान्तरण केवल पुस्ता परिवर्तनको विषय नभई जिम्मेवारी, क्षमता र नेतृत्व विकाससँग जोडिएको प्रक्रिया भएको बताएका छन् ।

उनले आफू पनि युवा पुस्ताकै सदस्य रहेको उल्लेख गर्दै युवाका अपेक्षा, आकांक्षा र भावनालाई नजिकबाट बुझेको बताए । राजनीतिमा नयाँ पुस्ताको सक्रिय सहभागिता, नेतृत्व विकास र उचित अवसर आवश्यक रहेकोमा कुनै विवाद नभएको उनको भनाइ छ ।

भुषालले पुस्तान्तरणको बहससँगै नेतृत्व केवल उमेरका आधारमा प्राप्त नहुने स्पष्ट पारे । उनका अनुसार नेतृत्व निरन्तर संघर्ष, योगदान, क्षमता, अध्ययन, अनुशासन र जनतासँगको सम्बन्धबाट निर्माण हुने जिम्मेवारी हो ।

उनले युवाहरूले अवसरको माग गर्नु स्वाभाविक भए पनि अवसरसँगै जिम्मेवारी बहन गर्ने क्षमता, संगठन निर्माण गर्ने धैर्यता, कठिन परिस्थितिमा उभिने साहस र जनताको विश्वास जित्ने कर्म पनि उत्तिकै आवश्यक हुने बताए ।

भुषालले अग्रज पुस्ताले संघर्षबाट निर्माण गरेको आधारलाई सम्मान गर्दै नयाँ पुस्ताले त्यसलाई अझ समृद्ध बनाउने दायित्व लिनुपर्ने उल्लेख गरे। पुरानो पुस्ताले ठाउँ छोडेपछि मात्र नयाँ पुस्ताको भूमिका सुरु हुने नभई आफ्ना काम, विचार र व्यवहारबाट नेतृत्वको आवश्यकता र औचित्य प्रमाणित गर्नुपर्ने उनको धारणा छ ।

उनले राजनीति सामाजिक सञ्जालका अभिव्यक्ति वा भाषणमा मात्र सीमित विषय नभएको भन्दै वास्तविक नेतृत्व जनताका समस्या बुझ्ने, संगठनलाई बलियो बनाउने, कठिन परिस्थितिमा साथ दिने र निरन्तर कर्म गर्ने यात्राबाट निर्माण हुने बताए ।

भुषालले अहिलेको आवश्यकता पुस्ताबीच प्रतिस्पर्धा होइन, अनुभव र युवाको ऊर्जाबीच सहकार्य भएको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नवीन सोचको संयोजनबाट मात्रै समाज परिवर्तनको बलियो आधार तयार हुने बताए ।

उनका अनुसार युवा हुनु केवल नयाँ पुस्तामा जन्मिनु मात्र नभई नयाँ सोच, नयाँ जिम्मेवारी र नयाँ संस्कारसहित समाजलाई सही दिशामा अघि बढाउने प्रतिबद्धता पनि हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट