२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बागलुङका मतदाता भन्छन् : ‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’

मंगलवार , माघ २०, २०८२

ढोरपाटन (बागलुङ) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी रहेको उनीहरुको गुनासो छ ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत काठेखोला गाउँपालिका–२ का प्रीतम थापाले स्पष्ट ‘एजेन्डा’ लिएर आउने नेतालाई यसपालि भोट दिने बताए । अहिलेसम्म तीनपटक मतदान गरेको अनुभव सुनाउँदै चुनाव जिताएका प्रतिनिधिले जनताको भावनाअनुसार काम नगरेको उनको भनाइ छ ।

दूरदराजमा शिक्षा, स्वास्थ्य, खानेपानी र यातायातको सुविधा अझैसम्म पुग्न नसेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने थापाले बताए । उनले भने, “चुनाव एउटा राम्रो प्रतिनिधि छान्ने अवसर हो, यस बेला सोचविचारका साथ गतिलो नेता चुन्न जरुरी छ, चुनावका बेला भोट माग्न धेरै थरि आउँछन्, लहलहैमा लागेर मत दिन हुँदैन भन्ने लाग्छ, जसले भुइँ मान्छेको समस्या बुझ्छ, नागरिकका आवाजलाई सदनमा बोल्न सक्छ उसैलाई मत दिने हो ।”

गलकोट नगरपालिका–८ का तुलबहादुर खत्रीले नयाँ पुराना पार्टीले जनताको हितमा काम गर्न नसकेको गुनासो गरे । लामो इतिहास बोकेका र भर्खर खुलेका पार्टीको विकास तथा सुशासन स्थापित गर्ने एउटै धारणा हुनुपर्ने उनको भनाइ छ । विकट गाउँ बस्तीका नागरिक आधारभूत सेवा पाउनबाट वञ्चित रहेका सुनाउँदै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता रहेको खत्री बताउँछन् ।

“मैले धेरै चुनावमा भाग लिए, चुनाव जितेकाहरुले केही गर्दै नगरेका त होइनन्, तर उनीहरुले जति गर्नुपर्ने हो त्यति गरेनन्, अब आउने नेतृत्वले हरेक नागरिकको समस्या बुझेको हुनु पर्छ”, उनले भने, “आफ्नो पार्टीका मान्छेलाई काखा अरूलाई पाखा गर्ने विभेदी नेता हुनुहुँदैन, निःस्वार्थी भावको नेतालाई जिताउन जरुरी हुन्छ ।”

ढोरपाटन नगरपालिका–९ का ७४ वर्षीय कुलबहादुर सुनारले सही उम्मेदवार छान्न नसक्दा जनताले दुःख पाएको बताए । आफूले २०४८ सालपछिका सबै निर्वाचनमा मतदान गर्दै आएको सुनाउँदै चुनाव जितेपछि भोट दिएको नेता एकपटक पनि फर्किएर गाउँमा नआएको उनको आरोप छ । आफ्ना लागि मात्र नभई जनताका समस्यालाई प्राथमिकता दिने नेतालाई भोट दिने सोच बनाएको सुनार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट