विराटनगर । पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान माघ २५ गतेदेखि मोरङ जिल्लामा सुरु हुने भएको छ ।
कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७५५ बालिकालाई लक्षित गरी अभियान सञ्चालनको तयारी गरिएको छ ।
जिल्ला खोप समन्वय समिति मोरङले विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५ गतेदेखि अभियान सुरु गरिने जानकारी दिए । उनका अनुसार ३ देखि ५ दिनभित्र अभियान सम्पन्न गर्ने लक्ष्यसहित जिल्लाभर ८२७ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
गत वर्ष अभियानबाट छुटेका बालिकाहरूलाई पनि यसपटक समेटिने उनले बताए । घिमिरेका अनुसार गत वर्ष जिल्लामा करिब ५० हजार बालिकालाई खोप प्रदान गरिएको थियो ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक वर्ष करिब १ हजार २ महिलाले ज्यान गुमाउने गरेको तथ्यांक प्रस्तुत गर्दै घिमिरेले स्थानीय तहहरूले भिआईए (VIA) स्क्रिनिङ नियमित रूपमा सञ्चालन गरिरहेको जानकारी दिए । उनले ३० वर्षमाथिका महिलालाई प्राथमिकतामा राखेर स्क्रिनिङ कार्यक्रम अघि बढाइएको बताए । खोप अभियानमा लक्षित समूह कोही पनि नछुट्ने गरी कार्यक्रम सञ्चालन गरिने उनले जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले लक्षित बालिकाहरू सबैलाई खोप सुनिश्चित गर्न सम्बन्धित निकायलाई सुझाव दिए । उनले कुनै संकोच नगरी अभियानमा सहभागी हुन बालिकाहरूलाई आग्रह गरे ।
निजी अस्पताल सञ्चालकहरूको संगठन अफिनका कोशी प्रदेश अध्यक्ष शंकर अधिकारीले खोप कार्यक्रमको ‘कभरेज’ शतप्रतिशत बनाउने गरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे । सरकारको खोप कार्यक्रममा सहभागी हुनबाट कसैले पनि वञ्चित हुन नहुने उनको भनाइ थियो ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख उषा झा, पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक लगायतले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
आगामी वर्षदेखि एचपिभी खोप नियमित खोप कार्यक्रमअन्तर्गत सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस