काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषणले पुनः जोखिमपूर्ण तह पार गरेको छ। आज बिहानको मापनअनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक १७१ पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले अस्वस्थ मानिन्छ।
प्रदूषणको वर्तमान अवस्था विश्वभरको वायु प्रदूषण रियल–टाइममा मापन गर्ने स्विट्जरल्याण्डस्थित संस्था आईक्यू एयरका अनुसार काठमाडौं आज संसारकै प्रदूषित शहरहरूको सूचीमा १०औँ स्थानमा रहेको छ। बिहानको समयमा प्रदूषणको मात्रा उच्च विन्दुमा पुग्दा उपत्यकाको आकाश तुवाँलोले ढाकेको थियो।
सोही सूचीमा छिमेकी मुलुक भारतको राजधानी दिल्ली ३०० भन्दा बढीका साथ पहिलो र बंगलादेशको ढाका २८८ का साथ दोस्रो स्थानमा रहेका छन्।
स्वास्थ्य जोखिम र सरकारी मापदण्ड नेपाल सरकारको वायु गुणस्तर सूचकांक अनुसार १५० भन्दा माथिकोलाई अस्वस्थ मानिन्छ। २०० नाघेमा निकै अस्वस्थ र ३०० माथि पुगेमा त्यसलाई घातक वा विपद्को अवस्था मानिने व्यवस्था छ। १७१ हुनुको अर्थ सामान्य स्वस्थ मानिसलाई समेत श्वासप्रश्वासमा समस्या पर्न सक्ने र संवेदनशील समूह (बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी) का लागि गम्भीर जोखिम हुनु हो।
विज्ञको सुझाव वायु प्रदूषण बढेसँगै जनस्वास्थ्य विज्ञहरूले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउन, बिहानको समयमा शारीरिक व्यायामका लागि बाहिर ननिस्कन र सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिइएको छ।
हिउँदको सुक्खा समय, सवारी साधनको धुवाँ, निर्माण कार्यको धूलो र फोहोर जलाउने प्रवृत्तिका कारण काठमाडौंको वायु खराब हुँदै गएको वातावरण विभागले जनाएको छ। वर्षा नभएसम्म यो अवस्था अझै केही दिन लम्बिन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस