मुगु । मुगु जिल्लाका चारवटै पालिकामा फागुन ४ गतेदेखि ६ गतेसम्म किशोरी लक्षित खोप अभियान सञ्चालन गरिने भएको छ। अभियान अन्तर्गत ५१ वटा विद्यालय र ६५ वटा संस्थागत गरी जिल्लाभरका जम्मा ११८ वटा खोप केन्द्रमार्फत ७६२ जना किशोरीलाई खोप लगाइने निर्णय गरिएको छ।
जसमा छायाँनाथ रारा नगरपालिकामा २७४, सोरु गाउँपालिकामा १८४, खत्याड गाउँपालिकामा २२५ र मुगुम कार्मारोङ गाउपालिकामा ७९ जनालाई लक्षित गरिएको छ।
स्वास्थ्य कार्यालय मुगुका अनुसार कक्षा ६ र १० मा अध्ययनरत किशोरी तथा कक्षा ८–१० मा अध्ययनरत र ११ देखि १४ वर्ष उमेर समूहका खोप लगाउन छुट भएका किशोरीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

खोप अभियानका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ। विद्यालय र समुदायस्तरमा समन्वय गरी लक्षित समूहसम्म खोप सेवा पुर्याइने स्वास्थ्य कार्यालयले जनाएको छ।
यस अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षा तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस