विराटनगर । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद ढकालले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिएका ढकालले क्षेत्रको दीगो विकास, रोजगारी सृजना र सामाजिक सुरक्षा सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन्।
ढकालले आइतबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सडक स्तरोन्नति, सिंचाइ विस्तार, शिक्षा सुधार र पर्यटन प्रवर्द्धनका कार्यक्रम समेटिएका छन्। उनले विराटनगरको दीर्घकालीन डुबान समस्या समाधान गर्न विशेष योजना ल्याउने, प्रमुख सडकहरूको स्तरोन्नति तथा कालोपत्रे विस्तार गर्ने र ग्रामीण भेगमा आधारभूत पूर्वाधार निर्माणलाई तीव्रता दिने उल्लेख गरेका छन्।
कृषि क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै ढकालले मल, बीउ र सिंचाइको सहज आपूर्ति सुनिश्चित गर्ने बताएका छन्। कृषकका उत्पादन संकलन केन्द्र स्थापना तथा बजारीकरणमा सहजीकरण गरिने योजना पनि सार्वजनिक गरिएको छ। उनले गछिया–बुढीगंगा–केसलिया क्षेत्रमा नदी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउने बताएका छन्।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्मार्ट कक्षा सञ्चालन र प्राविधिक शिक्षाको विस्तारमा जोड दिइएको छ। जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, उच्च शिक्षाका लागि सहयोग तथा धार्मिक विद्यालयलाई मूलधारको शैक्षिक कार्यक्रममा जोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
युवा लक्षित कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण, उद्यमशीलता विकास र स्वरोजगारमूलक तालिम सञ्चालन गर्ने योजना रहेको छ। सहकारी तथा माइक्रोफाइनान्समार्फत विपन्न वर्गलाई सुलभ ऋण उपलब्ध गराई आत्मनिर्भर बनाउने रणनीति अघि सारिएको छ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने उल्लेख गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि सुनसरी–मोरङ सीमावर्ती धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र विकास गर्ने, हरिसिंह सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ। साथै, कोशी नदी आसपास हरियाली प्रवर्द्धन, पार्क निर्माण र खुला व्यायामशाला स्थापना गर्ने कार्यक्रम पनि समेटिएको छ।
स्वास्थ्य सेवामा सरकारी तथा निजी अस्पतालमार्फत विपन्न नागरिकको पहुँच सहज बनाउने, निःशुल्क विद्युत् चुलो वितरण कार्यक्रम विस्तार गर्ने र बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।
ढकालले विगतमा भएका अधुरा योजनालाई प्राथमिकताका साथ पूरा गर्ने र संघीय, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर क्षेत्रको समग्र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरेका छन्। “समृद्ध क्षेत्र निर्माणका लागि स्पष्ट योजना र दृढ प्रतिबद्धता आवश्यक छ,” उनले भने।
स्थानीय बासिन्दाले पूर्वाधार, रोजगारी र बाढी नियन्त्रणलाई प्रमुख मुद्दाका रूपमा उठाइरहेका बेला ढकालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रले चुनावी माहोललाई थप सक्रिय बनाएको छ। निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारहरूले पनि आफ्ना एजेन्डा सार्वजनिक गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस