मोरङ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा बोलबम यात्राको विषयलाई लिएर दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो । घटनामा प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी कुल १६ जना घाइते भएका छन् ।
सुनसरी प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि डिजे बजाइ सप्तकोशी नदीतर्फ जाने तयारी भइरहेका बेला अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै विरोध गरेको थियो । सामान्य भनाभनबाट सुरु भएको विवादले क्षणभरमै उग्र रुप लिँदा दुवै पक्षबीच दोहोरो झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउन बाध्य हुनुपरेको प्रहरीको दाबी छ । झडपका क्रममा कप्तानगञ्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनीसमेत भएको छ ।
झडपमा घाइते भएका ८ जना प्रदर्शनकारीमध्ये अधिकांशलाई गोली लागेको प्रहरीले जनाएको छ। घाइतेहरूमध्ये २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय अर्का सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
उता प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक राकेश राईको टाउकोमा चोट लागेको छ । घटनामा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव तथा प्रहरी जवानहरू रामबहादुर राई, विजय यादव, बुद्धदेव साह र निवेश यादव घाइते भएका छन् । घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस