काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथसहित देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआजा र दर्शन गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएपछि झरीको परवाह नगरी श्रद्धालुहरूको लर्को लागेको हो ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार साउने सोमबारका अवसरमा आउने श्रद्धालुहरूका लागि सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा विशेष पूजाको प्रबन्ध मिलाइएको छ । पहिलो सोमबारको तुलनामा यस हप्ता व्यवस्थापनलाई अझ प्रभावकारी बनाइएको कोषले जनाएको छ ।
दर्शनार्थीको सुविधा र सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न सामाजिक सङ्घसंस्थाहरू परिचालन गरिएका छन् । कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले लाखौँ भक्तजनलाई मर्यादित र सहज वातावरणमा दर्शन गराउने गरी तयारी पुरा गरिएको जानकारी दिए ।
मन्दिरका चारै ढोका बेलुका ८ः०० बजे आरतीपछिसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान ८ः३० देखि मध्याह्न १२ः०० बजेसम्म मात्र सञ्चालन हुनेछ । दर्शनका लागि चार वटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ । साथै, पशुपति क्षेत्रमा प्राथमिक उपचारलगायतका अत्यावश्यक सेवाहरूसमेत उपलब्ध गराइएको छ ।
पशुपतिनाथका अलावा उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत देशभरका साना–ठूला शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस