काठमाडौं । मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जाइकाका अध्यक्षलगायतका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा बिहान १०ः२५ बजे सुरुङमार्गको उद्घाटन गर्न लागिएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री लम्साल, जापानी राजदूत र जाइका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको सुरुआत गर्नेछन् । सोपश्चात् निर्माण पक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सुरुङमार्गमा प्रवेश दिइनेछ । सुरुका केही दिन सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको पूर्ण परीक्षण गरिनेछ भने परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन । परीक्षण सफल भएपछि मात्र अन्य सबै वर्गका सवारीसाधन सञ्चालनका लागि खुला गरिनेछ ।
कुल २ हजार ६८८ मिटर लामो यस सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रेका साथै डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील र विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ ।
सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि तोकिएको शुल्क बुझाउनुपर्नेछ । सडक विभागका अनुसार काठमाडौँ भित्रिँदा काररभ्यानले रु ६५ बाहिरिँदा रु ६००, मिनीबस र साना ट्रकले रु ११५ बाहिरिँदा रु ८०० तथा ठूला बस र ट्रकले रु २६० (बाहिरिँदा रु २००) शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गमा विद्युतीय माध्यमबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखादेखि धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलासम्म जोडिने यस सुरुङमार्गले यात्रुको इन्धन र झन्डै एक घण्टाको समय बचत गराउने अपेक्षा छ । सुरुङभित्र अक्सिजनको निरन्तर प्रवाह, दमकल, आकस्मिक उद्धार, सिसीटिभी र सञ्चार संयन्त्रको पूर्ण व्यवस्था गरिएको छ ।
जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस आयोजनामा जापान सरकारको रु २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस