विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं. ५ का नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार अग्रवालले सुशासन, रोजगारी, सामाजिक न्याय र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले कालाबजारी, मिटरव्याजी तथा भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने बताएका हुन् ।
उनका अनुसार क्षेत्रभित्र कानुनी संयन्त्र सुदृढ गर्दै आर्थिक शोषण र ठगी नियन्त्रण गरिनेछ । साथै सामाजिक विकृति हटाउन स्थानीय तहसँग सहकार्य गरिने योजना छ ।
अग्रवालले युवाहरूका लागि रोजगारी तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक वडामा खेलमैदान, व्यायामशाला र खेल सामग्रीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । महिलाहरूलाई आयमूलक कार्यक्रम, सीपमूलक तालिम र निःशुल्क स्वास्थ्य परीक्षण उपलब्ध गराउन पहल गर्ने जनाइएको छ ।
जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य जाँच, धार्मिक भ्रमण तथा भजन–कीर्तनजस्ता कार्यक्रममार्फत सम्मानजनक जीवनयापनको वातावरण बनाइने योजना रहेको उनले बताए ।

त्यस्तै गरिब, अशक्त र निरक्षर परिवारलाई निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराइने तथा नागरिकता समस्यामा परेकाहरूको समाधानका लागि पहल गरिने जनाइएको छ । महिला हिंसा, बालविवाह र छुवाछुतजस्ता कुप्रथाविरुद्ध विशेष अभियान सञ्चालन गरिनेछ ।
विराटनगर, रंगेली, जहदा गाउँपालिका र धनपालथान गाउँपालिका भित्र रिङरोड, कृषि सडक, पुल तथा सामुदायिक भवन निर्माणमा पहल गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ । प्रत्येक वडामा स्वच्छ खानेपानी टंकी, डिप बोरिङ सिँचाइ तथा नमुना हाटबजार स्थापना गर्ने योजना अघि सारिएको छ ।
स्थानीय तहबाट लिइने कर तथा शुल्कलाई सकेसम्म घटाउने र सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाइएको छ ।
आफ्नो क्षेत्रलाई औद्योगिक तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विराटनगर र रंगेलीलाई आईटी हबका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ । युवा उद्यमीलाई सहुलियत कर्जा, सीप तालिम र उद्योग सञ्चालनमा सहयोग गरिनेछ ।
त्यस्तै रानी–कटहरी रेल सेवा पुनः सञ्चालन तथा रानी–रंगेली रेलमार्ग विस्तारका लागि पहल गरिने जनाइएको छ ।
अग्रवालले आफ्नो प्रतिबद्धताले मोरङ क्षेत्र नं. ५ लाई विकासको मूलधारमा ल्याउने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा जिताउन मतदातासँग अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस