काठमाडौं । नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार हुन् लेखराज भट्ट । यसअघि यातायात मन्त्रालय र आपूर्ति मन्त्रालय सम्हालिसकेका भट्ट यस पटक ह्याट्रिक गर्ने दाउमा छन् ।
यस क्षेत्रमा एमालेका भट्टसँग कांग्रेसका गोरख विष्टको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । उनीहरु एकै वडाका प्रतिस्पर्धी हुन् । भट्ट २०६४ सालको संविधानसभा निर्वाचन र २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।
उनै भट्टलाई सुनौलो नेपालको निर्वाचन विशेष बहस 'अब तपाईं किन' भनेर प्रश्न गरेका छौँ । सोही प्रश्नमा जवाफ दिँदै उनले भने, ‘ यहाँको भूगोल, जनताको मनोविज्ञानलाई बुझेको र यहाँका आवाजहरुलाई केन्द्रसम्म लैजान सक्ने र आफ्नो पार्टीमा पनि बोल्न सक्ने आवश्यकतालाई महसुश गरेर नै मैले उम्मेदवारी दिएको हुँ ।’
आफू पनि कृषिमा जोडिएकोले यतिखेर यहाँ आफ्नो आवश्यकता छ भन्ने लागेको उनले बताए ।
कुराकानीकै क्रममा उनले आफूहरुले विगतमा गरेरका परिवर्तनलाई युवाहरुमाझ बुझाउन नसकिएको स्वीकार गरे । उनले इतिहासमा हामीले कहिँ न कहिँ बैमानी गर्यौँ कि भनेर आफैँलाई प्रश्न गर्नुपर्ने समेत बताए । उनले अहिलेको खर्चिलो निर्वाचन प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने देखिएको बताए ।
प्रतिक्रिया दिनुहोस