काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरका १३५ निर्वाचन अधिकृत कार्यालयमा मतगणना जारी रहेको छ । हालसम्म २८ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने ३ क्षेत्रमा अझै मतगणना सुरु भएको छैन । प्रत्यक्षतर्फ मतगणना सकिएका स्थानमा समानुपातिकतर्फको गणना भइरहेको छ ।
ताजा मतपरिणामअनुसार झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीभन्दा करिब चार गुणा बढी मत पाएका छन् । शाहले ३२ हजार ३३६ मत प्राप्त गरेका छन् भने ओलीले ८ हजार ५१८ मत पाएका छन् ।
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिस्पर्धी अमरेशकुमार सिंहभन्दा करिब ३ हजार मतले पछि छन् । सिंहले ९ हजार ३७ मत प्राप्त गर्दा थापाले ५ हजार ८५८ मत पाएका छन् ।
काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू विजयी हुने लगभग निश्चित देखिएको छ। हालसम्म ९ क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ को नतिजा आउन बाँकी छ।
अहिलेसम्म नेकपा (एमाले) का उम्मेदवार एक स्थानमा मात्र निर्वाचित भएका छन् । बाँके–२ बाट इस्तेहाक राई विजयी भएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका ५ उम्मेदवार निर्वाचित भइसकेका छन् ।
समानुपातिकतर्फको अवस्था
समानुपातिकतर्फ रास्वपा आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसभन्दा तेब्बर मतले अघि देखिएको छ। देशभर हालसम्म कांग्रेसले करिब ७ हजार ५ सय मत प्राप्त गर्दा रास्वपाले करिब साढे २२ हजार मत प्राप्त गरेको छ ।
त्यस्तै एमालेले रास्वपाले पाएको मतको करिब १० प्रतिशत मात्र मत प्राप्त गरेको छ। एमालेभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बढी मत पाएको देखिएको छ ।
प्रत्यक्षतर्फ मतगणना टुंगिएका क्षेत्रमा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस