म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । मतगणना सम्पन्न भइसकेको छ भने औपचारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डा. पुन आफ्नै जन्मथलोबाट निर्वाचन लड्न आएका थिए । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने एजेन्डासहित चुनाव लडेका हुन् । साथै विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने नीति बनाउने प्रतिबद्धता उनले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गरे भने नेपाल कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाए ।
म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस