काठमाडौं । निर्वाचन आयोगका अनुसार सोमबार बिहानसम्म समानुपातिक प्रणालीअन्तर्गत खसेको कुल मतमध्ये झण्डै तीन चौथाइ मतगणना सम्पन्न भएको छ ।
हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी थ्रेसहोल्ड नजिक वा पार गर्दै समानुपातिक सिट दाबी गर्न सक्ने अवस्थामा देखिएका छन् । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने अझै जोखिममै रहेको छ ।
अहिलेसम्म करिब ७५ लाख ४० हजार मत गणना भइसकेको छ । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ लाख ५७ हजार मत प्राप्त गरेको छ, जुन करिब ४८.५ प्रतिशत हो । प्रारम्भिक चरणको तुलनामा मत अनुपात केही घटेकाले उसले करिब ५८ सिट पाउने अनुमान गरिएको छ ।
नेपाली कांग्रेसले १२ लाख ३३ हजार मत प्राप्त गर्दै करिब १६.५ प्रतिशत मतसहित २० सिट पाउने देखिएको छ ।
नेकपा एमालेले १० लाख ४३ हजार मत पाएको छ । करिब १४ प्रतिशत मतसहित उसले १६ सिट पाउने अनुमान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले ५ लाख ३५ हजार मत प्राप्त गरेको छ । करिब ७ प्रतिशत मतसहित उसले ८ सिट पाउने देखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार मत प्राप्त गरेको छ, जुन साढे ३ प्रतिशतभन्दा केही कम हो । हालको स्थितिअनुसार उसले ४ सिट पाउने देखिन्छ ।
श्रम संस्कृति पार्टीले २ लाख ३९ हजार मत पाएको छ । तीन प्रतिशतभन्दा केही बढी मत प्राप्त गरेकाले उसले पनि ४ सिट पाउने सम्भावना देखिएको छ ।
खसेको र सदर मतको अनुपातका आधारमा अन्तिम मतगणना सकिँदासम्म करिब ३ लाख १६ हजार मत प्राप्त गर्ने दल समानुपातिक सूचीमा योग्य हुने देखिएको छ । अहिलेको अवस्थासम्म राप्रपा र श्रम संस्कृति पार्टीबाहेक अन्य दलहरूले उक्त सीमा पार गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस