२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

श्रमदानबाट राजनीतिमा उदाएका हर्क साम्पाङ: अभियन्ता, मेयर हुँदै अब संसद् भवनको यात्रा

सोमवार , फाल्गुण २५, २०८२

सुनसरी । धरानका सडक, खोला तथा खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफैं श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राई को राजनीतिक यात्रा अब स्थानीय नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ पुगेको छ ।

धरान उपमहानगरपालिका का नगर प्रमुखका रूपमा निर्वाचित भएयता नेपाली राजनीतिक वृत्तमा निरन्तर चर्चामा रहेका राई हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी जिल्ला क्षेत्र नम्बर १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका छन् ।

वि।सं। २०७९ को स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर धरान उपमहानगरपालिकाको प्रमुख पद जितेका थिए । साधारण जीवनशैली, स्पष्ट अभिव्यक्ति र विकासका लागि श्रमदान अभियानको नेतृत्वका कारण उनी छोटो समयमै चर्चामा आएका थिए ।

नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैली अपनाए । औपचारिकता र खर्चिला कार्यक्रमभन्दा श्रमदान अभियानलाई प्राथमिकता दिँदै उनी आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गर्न थाले । धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले महिनौँसम्म स्थानीयवासीसँगै श्रमदान गरेका थिए ।

सामाजिक सञ्जालमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, विकास योजनामा जनसहभागिता बढाउने र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा स्थापित गरायो । यद्यपि उनको कार्यशैलीप्रति आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय छन् । समर्थक र आलोचकबीचको बहसले उनलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्दै आएको छ ।

राईको सामाजिक तथा राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भएको थियो । वि।सं। २०६८ तिर धरानमा कर वृद्धि र विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय थिए । पछि जनसरोकार मञ्चमार्फत उनले आन्दोलनको नेतृत्वसमेत गरे । धरानको पुरानो खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहित अभियान चलाउँदा उनी स्थानीय स्तरमै चर्चित बनेका थिए ।

खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोड गरेको आरोपमा उनी एकपटक पक्राउसमेत परेका थिए । केही दिनपछि उनी रिहा भएका थिए ।

यसैगरी उनले अवैध ढुङ्गा–गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गरे । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा बनेको संघर्ष समितिमा सह–संयोजक भएर आन्दोलन चलाए । सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा निरन्तर आवाज उठाउँदै आएका उनका गतिविधिले उनलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गराएको थियो ।

संगीतमा पनि रुचि राख्ने राईले केही वर्षअघि ‘मिसिङ हार्ट’ नामक एल्बम सार्वजनिक गरेका थिए । गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उनलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उनी “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित छन् ।

नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका थिए र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने । अब सांसदका रूपमा उनले श्रम र नागरिक सहभागितामा आधारित विकासको मोडललाई राष्ट्रिय स्तरमा विस्तार गर्ने बताएका छन् ।

धरानका सडक र खानेपानीका मुहानबाट सुरु भएको राईको अभियान अहिले संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उदाएका उनको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने चासो भने बढ्दै गएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट